
वासिंटन, कात्तिक २६ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा बोलाएर आतिथ्य सत्कार गरेका छन् ।
ट्रम्प नयाँ राष्ट्रपतिमा निर्वाचित भएको ४८ घण्टा बित्न नपाउँदै राष्ट्रपति ओबामाले ट्रम्पलाई ह्वाइट हाउसमा बोलाएर आतिथ्य सत्कारसँगै छलफल गरेका हुन् ।
नवनिर्वाचित राष्ट्रपति ट्रम्पले राष्ट्रपति ओबामाले गरेको छलफललाई ‘सम्मानको कुरा’ भएको बताए । ह्वाइट हाउसको ओभल अफिसमा ओबामा र ट्रम्पबीच डेढ घण्टासम्म छलफल भएको थियो । त्यस क्रममा आन्तरिक तथा बाह्य मामिलाका विषयमा कुराकानी भएको बताइएको छ ।
राष्ट्रपति ओबामाले नवनिर्वाचित राष्ट्रपति ट्रम्पले अमेरिकी जनताको भावनाअनुसार काम गर्ने विश्वास व्यक्त गरेका छन् । नवनिर्वाचित राष्ट्रपति ट्रम्पले भने ओबामाको टिमसँग मिलेर काम गर्ने बताएका थिए ।
ओबामाले नवनिर्वाचित राष्ट्रपति ट्रम्पले अघि सारेको विदेश नीति र मिलेर काम गर्ने चाहनाबाट आफू प्रभावित भएको बताए । उनले ट्रम्पको सफल कार्यकालको शुभकामनासमेत दिएका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्