
काठमाडौं, कात्तिक २६ । लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियान र नेपाल सरकार लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा २७ नोभेम्वर (मंसिर १२) का दिन बेल्जियमको ब्रुसेल्सस्थित होटल बेड्फोर्ड एण्ड कङ्ग्रेस सेन्टरमा हुने ‘विश्व शान्ति नगर लुम्बिनी, नेपाल’ नामक अन्तर्राष्ट्रिय सम्म्मेलनको तयारी भव्य रुपमा भइरहेको छ । सम्मेलनमा युनेस्कोको तर्फबाट मुख्यालयका निर्देशक पाउलो फोंटानीले विशेष अतिथिका रुपमा सहभागी भई सम्मेलनलाई सम्बोधन गर्ने लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार एवं लुम्बिनी–कपिलवस्तु विश्व अभियान, बेल्जियमका अध्यक्ष तथा सम्मेलनका आयोजक दामोदरप्रसाद आचार्यले जानकारी दिएका छन् ।
फोंटानीले १ डिसेम्बर २०१५ देखि युनेस्को बेनेलक्स र युरोपियन युनियनको प्रतिनिधित्व गरिरहेका छन् । फोंटानीले युनेस्कोका लागि बोस्निया, कोसोभो, अफगानिस्तान, क्यरिबियन र ब्राजिलमा रहेर काम गरिसकेका छन् ।
सम्मेलनका आयोजक आचार्य र निर्देशक फोंटानी बीच युनेस्को बेनेलक्सको ब्रुसेस्ल्सस्थित कार्यालयमा हालै सौहार्दपुर्ण भेट सम्पन्न भएको छ । करिव ४५ मिनेट भएको भेटवार्तामा सम्मेलन नेपालमा महाभूकम्प गएका कारण पहिलो पटक सरेको र बेल्जियम सरकारले सुरक्षा संवेदनशिलताका कारण रोक लगाएका कारण दोस्रो पटक सरेको विषयमा आचार्यले निर्देशक फोंटानीसमक्ष जानकारी गराएका थिए ।
बुद्धको जन्मस्थल लुम्बिनी नेपालको उच्चस्तरमा अन्तर्राष्ट्रिय मन्चमा प्रवर्द्धन गर्ने र बुद्धको शान्ति र अहिंसाका सन्देशहरुको प्रचारप्रसार ब्यापकरुपमा सम्मेलनमार्फत गर्ने योजनाका लागि लाग्ने आवश्यक अनुमानित खर्च ४२ हजार युरो रहेको र अभियानले न्युनतम २५ प्रतिशत रकम आर्थिक सहयोगका लागि नेपाल सरकारसमक्ष अनुरोध गरेको आचार्यले जनाएका छन् ।
सम्मेलन गर्ने मिति नजिकै आइसक्दासमेत नेपाल सरकारका तर्फबाट प्राप्त गर्ने आशा र अपेक्षा गरिएको सहयोग रकमबारे भने अझै अनिश्चितता कायम रहेकोप्रति आयोजकले गम्भीर चिन्ता प्रकट गरेको छ ।
प्रस्तावित सम्मेलन दुर्इ पटक स्थगन भएको र अन्तर्राष्ट्रिय मन्चमा यस सम्मेलनको बारेमा औपचारिक र अनौपचारिक छलफलहरु समेत भैसकेको अवस्था छ । गत साल स्थगन हुनुपूर्व सम्मेलनलाई सफल बनाउन यस अन्तर्राष्ट्रिय सम्मेलनलाई लक्षित गरेर ब्रुसेल्सस्थित युरोपियन युनियनसँग आवद्ध थिङ्क ट्यांक युरोपियन इन्स्टिच्युट फर एसियन स्टडिजले एउटा सेमिनार नै आयोजना गरेको थियो । त्यसको लागि नेपाली दुतावास, बेल्जियम र अभियानको सक्रियता रहेको थियो । अन्तर्राष्ट्रिय मन्चमा यो सम्मेलनलाई अहिले नेपालको प्रतिष्ठाको रुपमा हेरिएको अवस्था रहेको जानकारहरु बताउँछन ।
आयोजक आचार्यले सम्मेलनको विषयमा नेपाली राजदुतावास ब्रुसेल्समा बेनेलक्स र युरोपियन युनियनका लागि नवनियुक्त राजदुत लोकबहादुर थापासँग भेट गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्