काठमाडौं, कात्तिक २६ । पुष्पकमल दाहाल नेतृत्वको सरकार गठन भएको आज एकसय दिन पुगेको छ । नेपाली कांग्रेस र मधेसी मोर्चाको समर्थनमा गत साउन २० गते दाहाल नेतृत्वको सरकार गठन भएको थियो ।
सरकारले एकसय दिन उपलब्धिमूलक भएको दाबी गरेको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपलब्धिविहीन भएको निष्कर्ष निकालेको छ ।
संविधानको कार्यान्वयन प्रक्रिया अगाडि बढाउन उच्च अदालत स्थापना गरिएको विषयलाई सरकारको मुख्य उपलब्धिका रुपमा लिएको छ । संघीयतामा प्रशासन पुनः संरचनाका लागि कामहरु भइरहेको र स्थानीय तह पुनःसंरचना आयोगको कामकारवाहीलाई सहजीकरण गरिएको भन्दै प्रधानमन्त्रीको कार्यालयले आफ्नो १०० दिन उपलब्धिमूलक भएको दाबी गरेको छ ।
यस्तै मधेसी, जनजातिलगायत संविधानप्रति असन्तुष्ट पक्षसँग सम्वाद र संविधान कार्यान्वयनका लागि वातावरण तयार गर्न सम्वद्ध सबै पक्षबीच दुरी घटाई सहकार्यको आधार तयार गरिएको दाबी सरकारको छ ।
यसैबीच प्रधानमन्त्री दाहालले सरकार सञ्चालनको सय दिन पुगेको अवसरमा आज पत्रकार सम्मेलन गरी उपलब्धिबारे जानकारी दिने भएका छन् ।









प्रतिक्रिया दिनुहोस्