
फाइल फोटो
विराटनगर, कात्तिक २६ । प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई प्रत्याभूति हुने खालको सेवा प्रदान गर्न कर्मचारीलाई निर्देश गरेका छन् ।
मोरङ जिल्लास्थित क्षेत्रीय र जिल्ला कार्यालयका प्रमुखलाई शुक्रबार बिहान विराटनगरमा निर्देशन दिँदै उनले भने–‘विकास–निर्माणका योजनालाई राम्रोसँग परिणाममुखी ढंगले सम्पन्न गर्नोस् ।’
प्रधानमन्त्री दाहालले विकास–निर्माणका योजनालाई समयमै सम्पन्न गर्न कर्मचारीबीच प्रतिस्पर्धाको भावना जागृत हुनुपर्ने बताउँदै ‘गुणस्तरीयकार्य सम्पन्न गर्ने कर्मचारीलाई राज्यले पुरस्कृत गर्नेछ’–भने ।
राष्ट्रिय गौरवका योजनालगायत अन्य महत्वपूर्ण योजनालाई समयमै सम्पन्न गर्नुपर्ने उल्लेख गर्दै उनले राष्ट्र निर्माणका लागि सकारात्मक सोचका साथ एक्यवद्ध भएर अगाडि बढ्न कर्मचारीलाई निर्देशन दिए ।
प्रधानमन्त्री दाहालले आपूmले राष्ट्रिय गौरवका योजना र महत्वपूर्ण योजनालाई सम्पन्न गर्नका लागि के समस्या छ भनेर विभागीय मन्त्रीलगायत पदाधिकारीसँग छलफल गरी समस्या समाधानका ठोस कदम उठाउन निर्देशन दिएको उल्लेख गर्दै विकास निर्माणको कार्यमा गति दिइ बजेट खर्च बढाउन पनि निर्देश गरे ।
आफूले मेलम्ची, सिक्टा सिँचाइ आयोजना, प्यूठानको बाढीग्रस्त क्षेत्र, अपर तामाकोसी, खोटाङ, संखुवासभाको राजमार्ग क्षेत्रको अवलोकन र अनुगमन गरेर ती योजना समयमै सम्पन्न गर्न बढी केन्द्रित हुनसमेत निर्देश गरेको उनले बताए ।
राजनीतिक दलबीच समझदारी बढाएर सबैको सहमतिमा संविधान कार्यान्वयनको काम अगाडि बढाइएको चर्चा गर्दै प्रधानमन्त्री दाहालले भने–‘संविधान कार्यान्वयनका साथै तीन तहको निर्वाचन सम्पन्न गराउनका लागि कर्मचारीले सकारात्मक वातावरण बनाएर कार्य गर्न जरुरी छ ।’
उनले स्वतन्त्र विदेशनीतिलाई आधार बनाएर दुबै छिमेकीमुलुकसँगको सम्बन्ध सन्तुलित रहेको र अन्तर्राष्ट्रिय जगतसँग सन्तुलित सम्बन्ध राखेर सरकार कार्य गरिरहेको बताउँदै शान्ति–प्रक्रियालाई अगाडि बढाएको, सेना समायोजनपछि मुलुकमा गुणात्मकरुपमा शान्ति–सुरक्षाको अवस्थामा सुधार भएको उल्लेख गरे ।
भूमन्डलीकरण र विज्ञान–प्रविधिको राम्रो पक्षलाई अंगीकार गरी नेपाली सेना, सशस्त्र र नेपाली प्रहरीलाई सक्षम बनाउन सरकार अग्रसर रहेको प्रधानमन्त्री दाहालले बताए ।
निमित्त मुख्यसचिव टंकमणि शर्माले ‘विकासको गति सुस्त भएकाले यसतर्फ कर्मचारी अग्रसर हुनुपर्दछ’–भने ।
सो अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायले जिल्लाका मुख्य समस्याकाबारेमा प्रधानमन्त्री दाहाललाई जानकारी गराएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्