काठमाडौं, कात्तिक २६ । पूर्वअर्थमन्त्रीहरुले भारतमा भारु पाँच सय र एक हजारदरका नोटको प्रतिस्थापनासम्बन्धी निर्णयबाट नेपाली नागरिकमा परेको अन्योल चिर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार व्यवस्थापिका–संसदको विशेष समयमा बोल्दै पूर्वअर्थमन्त्रीहरुले अहिले पनि भारतीय पाँच सय र हजारका नोटहरु नेपालीहरुसँग ठूलो मात्रामा रहेको भन्दै त्यसबारेको अन्योल हटाउन तत्काल पहल थाल्न सरकारसँग आग्रह गरेका हुन् ।
बैठकमा बोल्दै पूर्वअर्थमन्त्री एवं कांग्रेस सांसद डा. रामशरण महतले स्रोत खुलेका, साना व्यवसायी र पेन्सन प्राप्त गरिरहेका व्यक्तिको हितको रक्षा गर्न सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने बताए ।
पूर्वअर्थमन्त्री एवं एमाले सांसद सुरेन्द्र पाण्डेले भारु प्रतिस्थापना गर्ने निर्णयले दीर्धकालीनरुपमा नेपालको अर्थतन्त्रलाई माथि उकास्न सहयोग पुगे पनि तत्काल देखिएको अन्योललाई छिटो अन्त्य गर्नुपर्ने बताए ।
एमाले संसद राजन भट्टराईले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा कूटनीतिक मर्यादाविपरीत काम गरेको भन्दै त्यसबारे सरकारसँग जवाफ मागे ।
संसदको शुक्रबारको बैठकमा संघीय प्रदेशका पदाधिकारी तथा सांसदहरुको पारिश्रमिक र सुविधासम्बन्धी विद्येयक पेस भएको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्ध दलले भने शुक्रबारको बैठक बहिस्कार गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्