फाइल फोटो
विराटनगर, कात्तिक २६ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयन गर्ने मुख्य उद्देश्यका साथ सरकार गृहकार्य गरिरहेको बताएका छन् ।
नेकपा माओवादी केन्द्र प्रदेश नम्बर–१ को विराटनगरमा शुक्रबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संविधान संशोधनको तयारी अन्तिम चरणमा पुगेको र केही दिनभित्रै संशोधन प्रस्ताव संसदमा दर्ता हुने जानकारी गराए ।
मुलुकका सबै असन्तुष्ट पक्षलाई समटेर अगाडि बढ्नुपर्ने चर्चा गर्दै प्रधानमन्त्री दाहालले तराई–मधेस, पहाड र हिमालका जनतालाई ऐक्यबद्ध गर्नुपर्ने कार्यमा पार्टीका कार्यकर्तालाई अग्रणी भूमिका निर्वाह गर्नुपर्ने विषयमा जोड दिए ।
गरिबकोनिम्ति जनताको पेन्सन कार्यक्रम, बेरोजगार युवाका लागि रोजगारलगायतका कार्यक्रम सरकारले ल्याउन लागेको जानकारी गराउँदै उनले विकासका लागि सुशासन आवश्यक रहेको स्पस्ट पारे ।
कुनै समुदायलाई ‘काखा’ र कसैलाई ‘पाखा’ लगाउने राष्ट्रवादको नाराबाट कार्यकर्ता सचेत रहन आग्रह गर्दै प्रधानमन्त्री दाहालले सबैलाई एउटै मालामा उनेर अगाडि बढ्ने राष्ट्रवादको पक्षमा जुट्न कार्यकर्तालाई आह्वान गरे ।
आन्तरिक राष्ट्रिय एकतालाई सुदृढ गर्दै छिमेकीसँग सुमधुर सम्बन्धलाई अझ मजबुत पारी अगाडि बढ्नुपर्ने उल्लेख गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले सामाजिक सन्जालको झूठो प्रचारबाट भ्रमित नहुन कार्यकर्तालाई सुझाव दिए ।
छिमेकीमुलुकको आर्थिक विकासबाट लाभान्वित हुनुपर्ने प्रसंग उल्लेख गर्दै हालै भारत भ्रमणको अवसरमा मुलुकको विकासमा गति दिनका लागि हुलाकी राजमार्गको विषयमा सहमति गरेको जानकारी गराए ।
उनले हालै भारतका राष्ट्रपतिको भ्रमण सम्पन्न भएको र निकट भविष्यमै चीनको राष्ट्रपतिको भ्रमण हुने तथा नेपालको राष्ट्रपतिको आगामी दिनमा भारत भ्रमण हुने जानकारी गराए ।
राष्ट्रिय गौरव र ठूला योजनालाई छिटो सम्पन्न गर्न निर्देश दिएको चर्चा गर्दै प्रधानमन्त्री दाहालले राम्रो काम गर्ने कर्मचारी पुरस्कृत हुने र नराम्रो काम गर्ने कर्मचारी कारबाहीमा पर्ने स्पस्ट पारे ।
राष्ट्रिय गौरव र ठूला आयोजनाको काममा ढिलासुस्ती देखिएकाले आफूले स्थलगत निरीक्षण र अवलोकन सुरु गरेको उल्लेख गर्दै उनले यस विषयमा सम्बन्धित मन्त्रालयका मन्त्री र मुख्य पदाधिकारीलाई समस्याको विषयमा जानकारी गराउनु र समयमै काम सम्पन गराउने वातावरण तयार पार्न निर्देशन दिएको बताए ।
मुलुकको नेतृत्व गर्ने अभिभारा आफ्नो पार्टीको काँधमा रहेको चर्चा गर्दै उनले पार्टीको संगठनलाई बलियो बनाउन कार्यकर्तालाई आह्वान गरे । रासस









प्रतिक्रिया दिनुहोस्