Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


नयाँ १० सहर आयोजनाको एकीकृत विकास योजना अन्तिम चरणमा


0
Shares

काठमाडौं, कात्तिक २६ । मध्यपहाडी लोकमार्ग आसपासका १० सहरलाई व्यवस्थित नयाँ सहरकारुपमा विकास गर्न सुरु गरिएको एकीकृत विकास योजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

सरकारले पाँचथरको फिदिम, तेह्रथुमको बसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी-गल्छी, तनहुँको डुम्रे भन्सार, बाग्लुङको बुर्तिबाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, बैतडीको पाटन र अछामको साँफेबगरलाई व्यवस्थित सहरकारुपमा विकास गर्न लागिएको छ ।

आर्थिक वर्ष २०६७/०६८ देखि पूर्वाधार निर्माणका लागि १० सहर छनोटको काम सुरु भएको थियो । प्रत्येक विकास क्षेत्रका दुई सहरलाई व्यवस्थित सहर बनाउन सो कार्यक्रम सुरु भएको हो ।

सहर छनोट गरी तीन वर्ष अघिदेखि १० सहरलाई २० वर्षमा एक लाख जनसंख्या अत्यावश्यक सुविधासहित बस्नसक्ने गरी पूर्वाधार विकासको काम गर्न एकीकृत विकास योजना निर्माण अन्तिम चरणमा पुगेको नयाँ सहर आयोजना समन्वय कार्यालयका इन्जिनियर शान्तिवदन श्रेष्ठले बताए ।

‘दुई सहर हेर्ने गरी एकजना परामर्शदाताले एकीकृत विकास योजना निर्माण गर्नुभएको छ, १० ओटै सहरमा समन्वय कार्यालय खुलेर काम सुरु भएकोे छ । यस वर्ष आयोजनाका लागि रु एक अर्ब एक करोड ११ लाख ४४ हजार बजेट विनियोजन भएको छ’–उनले भने ।

आव २०७१/२०७२ देखि १० ओटै सहरमा पूर्वाधार निर्माणको काम सुरु भएको आयोजना प्रमुख चक्रवर्ती कण्ठले जानकारी दिए ।

‘चालु आवको अन्तसम्म योजना निर्माण सक्ने गरी काम भइरहेको छ’–उनले भने । रासस