Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


‘देउवालाई कसैले सिकाइरहनु पर्दैन, कार्यक्रमको तस्वीर नक्कली’


0
Shares

                                                                                   फाइल फोटो

काठमाडौं, कात्तिक २६ । नेपाली कांग्रेसले ‘एक चीन नीति’प्रति पार्टीको स्पस्ट दृष्टिकोण रहेकोे जनाएको छ ।

कांग्रेसले शुक्रबार विज्ञप्ति जारी गरी पार्टी पञ्चशीलको सिद्धान्तमा दृढ रहेको जनाउँदै ‘कांग्रेसको चीन सरकारसँगको सम्बन्धका विषयमा भ्रम सिर्जना गर्ने दुष्प्रयास गर्नु दुर्भाग्यपूर्ण हो’ भनी उल्लेख गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ–‘पार्टीको एक चीन नीतिप्रतिको दृष्टिकोण कांग्रेस पार्टी र सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई कसैले सिकाइरहनु पर्दैन ।’

ध्यानाकर्षण
सभापति देउवाको ‘भारत भ्रमणका सम्बन्धमा केही छापामाध्यममा भ्रामक र कपोलकल्पित प्रचार भएको’ भन्दै कांग्रेसले त्यसको निन्दा गरेको छ ।

सभापति देउवा इन्डिया फाउन्डेसनद्वारा आयोजित कार्यक्रमको प्रमुख अतिथिकारुपमा भाग लिन भारतको गोवा गएका थिए ।

‘कार्यक्रमको उद्घाटनसत्र सकिनेबित्तिकै सभापति देउवा कार्यक्रमस्थलबाट बाहिरिनुभएको हो तर यथार्थलाई बिर्सेर केही नेपाली सन्चारमाध्यमले पटक–पटक सभापति देउवाले दलाई लामाका प्रतिनिधिलाई भेटेको भन्दै नियोजितरुपमा र अनर्गल प्रचारको शैलीमा समाचार सम्प्रेषण गरिरहेकोप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ’–विज्ञप्तिमा भनिएको छ ।

उक्त कार्यक्रमको उद्घाटनसत्रको प्रमुख अतिथिकारुपमा सभापति देउवाले सम्बोधन गरेको र कार्यक्रममा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह, भारतका रेलमन्त्री सुरेश प्रभु र आध्यात्मिक चिन्तक स्वामी तेजोनन्द सहभागी वक्ताकारुपमा मन्चमा रहेको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रमको तस्वीर नक्कली
कांग्रेसले नक्कली तस्वीरसहितका समाचार सम्प्रेषण गरेर सभापति देउवालाई बदनाम गर्ने कुत्सित उद्देश्यले दुष्प्रचार गरिएको भन्दै दुःख व्यक्त गरेको छ ।

विज्ञप्तिमा भनिएको छ–‘कहाँ–कहाँको तस्वीर जोडी उहाँसँगै बसेको र अन्तरक्रियासमेत गरेको तथा सभापति देउवा एक चीन नीतिप्रति संवेदनशील नभएको भनी दुष्प्रचार गर्नु दुर्भाग्यपूर्ण हो ।’

कांग्रेसले सभापति प्रमुख अतिथि रहेको कार्यक्रमको दर्शकदीर्घामा को–कहाँ बसेका थिए भन्ने कुनै जानकारी उनलाई जानकारी नभएको र त्यो चियोचर्चा गर्ने विषय पनि नभएको विज्ञप्तिमा जनाइएको छ । रासस

Skip This