
काठमाडौं, कात्तिक २६ । प्रधानमन्त्री पुष्पकमल दाहालले यही कात्तिक महिनाभित्र संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने बताएका छन् ।
सरकारले सय दिन पूरा गरेको सन्दर्भमा शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलन (सम्बोधन)मा उनले संशोधनको प्रस्ताव तयार भइसकेको र त्यसमा सहमति जुटाउने प्रयास गरिरहेको जानकारी दिए ।
प्रधानमन्त्री दाहालले संशोधन प्रस्तावमा मधेसीलगायतका समूहहरु सहमत रहेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई मनाउने कोसिस जारी रहेको बताए ।
त्यसक्रममा प्रधानमन्त्री दाहालले तीन सय दिनमा गर्न नसकिने काम आफ्नो सरकारले सय दिनमा गरेको दाबी पनि गरे ।
उनले उच्च अदालतहरु गठन, भाषा आयोग गठन संसदबाट १४ ओटा विधेयक पारितजस्ता काम संविधान कार्यान्वयनको पक्षमा भएको बताए ।
स्थानीय तह पुनःसंरचनाको काम अन्तिम चरणमा पुगेको भन्दै उनले स्थानीय र संघीय निर्वाचनको तयारी पनि सरकारले गरिरहेको दाबी गरे ।
भूकम्पपछिको पुनःनिर्माणका लागि ३ हजार ५ सय जनशक्ति परिचालन गरेको, १ हजार ९ सय डकर्मीलाई तालिम दिएको र भूकम्पपीडितको रकम बढाएर ३ लाख पुर्याएको पनि उनले बताए ।
आर्थिक परिसूचकहरु सकारात्मक रहेको दाबी गर्दै प्रधानमन्त्री दाहालले नयाँवर्षको सुरुवातसँगै मेलम्चीको पानी काठमाडौं आउने गरी काम गर्न निर्देशन दिएको पनि बताए ।
उनले अहिले काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त गराउन परीक्षण भइरहेको भन्दै छिट्टै देशैभर ‘नो लोडसेडिङ’ घोषणा गर्ने दाबी पनि गरे ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्