
काठमाडौं, कात्तिक २७ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओबामा हेल्थकेयरका धेरै विषय जस्ताकोतस्तै राख्न आफू तयार रहेको प्रष्ट गरेका छन् ।
यसअघि राष्ट्रपति निर्वाचनका क्रममा भने उनले ओबामा हेल्थकेयरको धुवाँधार विरोध गर्दै यसलाई खारेज गर्ने बताएका थिए ।
आफू राष्ट्रपतिमा निर्वाचित भएमा सन् २०१०मा ओबामाले ल्याएको उक्त कानून खारेज गर्ने बताउँदै आएका ट्रम्पले राष्ट्रपति भएपछि ओबामासँगको पहिलो भेटपछि नै बोली बदलेका हुन् ।
कानूनमा रहेका महत्वपूर्ण दुई आधारलाई जस्ताकोतस्तै राख्ने ओबामासँगको भेटपछि केही सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका छन् ।
उता, ट्रम्पको यूरोपसँगको सम्बन्ध भने बिग्रन सक्ने आंकलन गरिएको छ । यूरोपेली संघका अध्यक्ष ज्याँ क्लोड युंकरले ट्रम्पकै कारण अमेरिका र यूरोपको सम्बन्धमा टकराव आउनसक्ने चेतावनी दिएका हुन् ।
यूरोप के हो र कसरी काम गर्छ भन्ने ट्रम्पलाई बताउन जरुरी रहेको पनि उनको भनाइ छ । अमेरकामा भने ट्रम्पको जीतको विरोधमा जारी प्रदर्शन अहिले पनि कायमै छ ।
विभिन्न शहरमा प्रदर्शन कायमै राखिएको छ भने कतिपय शहरमा प्रदर्शन हिंसात्मक बनेको छ । हिंसा रोक्न प्रहरीले बल प्रयोग गर्नु परेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्