२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


विश्वकप छनौटः जर्मनीले गर्‍यो गोलको बर्षा, फ्रान्स र इङल्याण्ड चम्किए


0
Shares

काठमाडौं, कात्तिक २७ । विश्व कप २०१८ को छनौट अन्तर्गत शुक्रबार राति भएका खेलमा विश्व विजेता जर्मनीले शानदार जित निकालेको छ ।

युरोपियन क्षेत्रको छनौट अन्तर्गत राति भएको खेलमा समूह सीमा रहेको जर्मनीले सान मारिनोलाई ८–० ले हराएको हो ।

जर्मनीको जितमा सर्ज नाब्रीले तीन तथा जोनास हेक्टरले दुई तथा सामी खेडिरा र केविन भोल्लाण्डले एक एक गोल गरे ।

लगातार चार खेल जितेको जर्मनी १२ अंकसहित समूहको शीर्ष स्थानमा छ । समूह सी अन्तर्गत नै नर्दन आयरल्याण्डले अजरबैजानलाई ४–० तथा चेक गणतन्त्रले नर्वेलाई २–१ ले हरायो ।

यसैगरी, राति नै भएको अर्को खेलमा फ्रान्सले पनि जितेको छ । घरेलु मैदानमा भएको खेलमा फ्रान्सले स्वीडेनलाई २–१ ले हराएको हो ।

पहिलो हाफमा १–० ले पछि परेको समूह एमा रहेको फ्रान्सलाई जिताउन पाउल पोग्बा र दिमित्री पेयटले गोल गरे ।

जितपछि चार खेलबाट १० अंक जोडेको फ्रान्स समूहको शीर्ष स्थानमा छ । राति भएका अरु खेलमा अमर्नेनियाले मन्टेनेग्रोलाई ३–२, डेनमार्कले काजकस्तानलाई ४–१ तथा पोल्याण्डले रोमानियालाई ३–० ले हरायो ।

अर्को खेलमा समूह एफमा रहेको इंग्ल्याण्डले स्कटल्याण्डलाई ३–० ले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा इंग्ल्याण्डलाई जिताउन डानिएल स्टरेज, एडम लालन र ग्यारी काहिलले एक एक गोल गरे ।

जितपछि चार खेलबाट १० अंक जोडेको इंग्ल्याण्ड समूहको शीर्ष स्थानमा छ । समूह एफ अन्तर्गत नै भएको खेलमा स्लोभाकियाले लिथुवानियालाई ४–० तथा स्लोभेनियाले माल्टालाई १–० ले हराएको छ ।