२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


तिलौराकोट दरबार विश्वसम्पदा सूचीमा पर्ला त ! (भिडियो)


0
Shares

बासुदेव बर्मा

कपिलवस्तु, चैत १५ । गौतम बुद्धसँग सम्बन्धित कपिलवस्तुको ऐतिहासिक तिलौराकोट दरबार विश्वसम्पदा सूचीमा सूचीकृत हुने सम्भावना प्रबल बन्दै गएको छ ।

तिलौराकोटस्थित बुद्धको क्रिडास्थल तथा राजदरबारमा आठौं चरणको उत्खनन् कार्य सम्पन्न भएसँगै विश्वसम्पदा सूचीमा सूचीकृत हुने सम्भावना बढेर गएको हो ।

तिलौराकोट दरबार परिसरमा गरिएका ७ पटकसम्मका उत्खनन् कार्यबाट यहाँको ऐतिहासिक महत्व, वास्तविकता र प्राचिनतासम्बन्धी महत्वपूर्ण तथ्यहरु फेला परेका थिए । त्यसकै निरन्तरतास्वरुप करिब एक महिनाअघि आठौं चरणको उत्खनन् कार्य सम्पन्न भएपछि केही आशाका किरणहरु देखा परेका छन् ।

उत्खनन् कार्य बेलायतका वरिष्ठ पुरातत्वविद् रवीन कनिङ्घम तथा पुरातत्व विभागका वरिष्ठ पुरातत्वविद् कोषप्रसाद आचार्यलगायतको टोलीले दरबारभित्रका चार स्थानमा गरेको थियो ।

लुम्बिनीजत्तिकै ऐतिहासिक र धार्मिक महत्व हुँदाहुँदै पनि प्रचारप्रसारका कारण तिलौराकोट ओझेलमा परेको पुरातत्वविदको भनाइ थियो । यसपटकको उत्खनन् कार्यबाट हवाई छायांकन, जियो फिजिक्स सर्बे, फिल्ड वाकिंग र इन्टिकुटी फोरसेसिंग जस्ता महत्वपूर्ण उद्देश्य लिइएको छ ।

पछिल्लो उत्खननबाट प्राप्त प्रमाणले यस क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने आधार तय गर्ने पुरातत्व विभागका पुरातत्वविद् रामबहादुर कुवँरको धारणा छ ।

उत्खनन् कार्यबाट तिलौराकोट राजा शुद्धोधनको राजधानी रहेको प्रमाण फेला परेको छ । त्यस्तै इशापूर्व आठौं शताब्दिमा पनि यो क्षेत्र व्यवस्थित दरबार रहेको पुष्टि भएको बताइएको छ ।

चरणबद्ध रुपमा गरिएका उत्खननबाट बौद्धकालिन, मौर्यकालिन, सुंघकालिन, कुषाणकालिन र गुप्तकालिन समयमा निर्माण भएका संरचना, मुद्राहरु भेटिएका छन् । जुटेका सबै प्रमाणसहित सन् २०२१ भित्र यसलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल गर्ने पुरातत्वविद् रामबहादुर थापाले बताए ।

विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने आधिकारिक संस्था युनेस्कोले आवश्यक प्रक्रिया पुरा गरी यस क्षेत्रलाई पनि समावेश गर्नेमा उत्खननमा संलग्न पुरातत्वविदहरु आशावादी देखिएका छन् । जापानिज फण्ड ईन ट्रष्ट (जेफीड) फर युनेस्कोको आर्थिक सहयोग तथा पुरातत्व विभाग र लुम्बिनी विकास कोषको सहकार्यमा  जनवरी ७ देखि शुरु भएको उत्खनन् कार्य फेब्रुअरी २८ सम्म चलेको थियो । 

भिडियो हेर्नुहोस्