
काठमाडौं, कात्तिक २७ । नेपाल कीर्तिमान रच्दै मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
एसियालीस्तरको कुनैपनि प्रतियोगिताको पहिलोपटक फाइनलमा पुग्नेक्रममा नेपालले शनिबार भएको पहिलो सेमिफाइनलमा लाओसलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गरेको हो ।
नेपालका लागि पेनाल्टी सुटआउटमा हेमन गुरुङ, विक्रम लामा र सुजल श्रेष्ठले गोल गर्दा लाओसका दुईओटा प्रहारलाई नेपाली गोलकिपर किरण चेम्जोङले रोकेका थिए भने लाओसको एउटा प्रहार बाहिरिएको थियो । किरणकै नायकीपनले नेपाल फाइनलमा पुगेको हो ।
यसअघि, कुचिङको मैदानमा भएको खेलको निर्धारित् ९० मिनेटसम्म १–१ गोलको बराबरी भयो ।
१८औं मिनेटमा डिफेन्सको कमजोरीले गोल खाएको नेपालले ४७औं मिनेटमा बराबरी गरेको थियो । भरत खवासको क्रसमा विमल घर्तीमगरले गोल गरे ।
त्यसपछि थपिएको ३० मिनेटको खेलको १४औं मिनेटमा गोल गर्दै अनन्त तामाङले नेपाललाई अग्रता दिलाए । हेमन गुरुङको पासमा अनन्तले हेडगोल गरेका थिए ।
तर, खेल सकिन ३ मिनेट बाँकी छँदा फेरि डिफेन्सको कमजोरीले नेपालले गोल खाँदा पेनाल्टी सुटआउटमा निर्णय हुन पुग्यो ।
नेपाल समूहमा अपराजित रहँदै समूह विजेताकोरुपमा सेमिफाइनलमा पुगेको थियो ।
नेपालले समूहमा ब्रुनाईलाई ३–० ले हराउँदा टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको थियो । लाओसले भने मकाउसँग हार व्यहोर्दै समूह उपविजेता बनेको थियो ।
जितसँगै नेपाली टिमका मुख्य प्रशिक्षक जापानी ग्योतोकु कोजीले नेपालले उपाधि नै जित्ने भनाइ दोहोर्याए ।
मकाउ पनि फाइनलमा
अब नेपालले फाइनलमा मंगलबार मकाउसँग खेल्नेछ ।
शनिबारै भएको दोस्रो सेमिफाइनलमा मकाउले ब्रुनाईलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै फाइनलमा नेपालसँगको भेट तय गरेको हो ।
यसअघि, निर्धारित् ९० मिनेटमा १–१ को बराबरी हुँदा थपिएको ३० मिनेटमा गोल भएको थिएन ।
प्रतिक्रिया दिनुहोस्