१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


हिलारीले पराजयको रहस्य खोलिन, ट्रम्पविरुद्धको प्रदर्शन रोकिएन


0
Shares

काठमाडौं, कात्तिक २८ । अमेरिकी राष्ट्रपति पदमा पराजित डेमोक्रेट उम्मेदवार हिलारी क्लिन्टनले आफ्नो हारका लागि अमेरिकी संघीय जाँच ब्यूरोका निर्देशकलाई जिम्मेवार ठहर्‍याएकी छिन् ।

एफबीआईका निर्देशक जेम्स कूमीले निर्वाचनको ठीक पहिले ईमेल प्रकरणमा फेरि जाँचका लागि हात हालेका कारण पराजय ब्यहोर्नुपरेको गुनासो क्लिन्टनले पोखेकी हुन् ।

पार्टीका लागि सबैभन्दा बढी चन्दा दिनेसम्मलाई आफ्नो हारका बारेमा क्लिन्टनले यस्तो गुनासो गरेकी हुन् । गोप्य ढंगले गरिएको यो कुराकानी सञ्चारमाध्यममा लीक भएपछि क्लिन्टनले हारको दोष कूमीमाथि लगाएको खुलेको हो ।

विदेश मन्त्री रहँदा आफ्नो निजी सर्भरबाट इमेल प्रयोग गरेको आरोपमा एफबीआईले पटक पटक अनुसन्धान गरेपनि अपराध नै गरेको कुनै प्रमाण भने फेला परेको थिएन ।

यद्यपि, इलेक्टोरलको बहुमत बटुल्न नसक्दा पपुलर भोटमा ट्रम्पभन्दा बढी मत ल्याएर पनि हिलारी हारेकी छिन् ।

यसैबीच नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोध गर्ने क्रम भने अझै जारी छ । ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएलगत्तै अमेरिकाको विभिन्न शहरमा प्रदर्शनकारीहरु विभिन्न आरोपका साथ सडकमा ओर्लिएका हुन् ।

आगामी २० जनवरीमा राष्ट्रपति पदको सपथका साथ ह्वाइटहाउस छिर्ने तयारीमा रहेका ट्रम्पले भने निर्वाचनका समयमा व्यक्त गरेका कतिपय ‘अन्टसन्ट’ अभिव्यक्तिबाट क्रमशः आफूलाई अलग गराउँदै जान थालेको सञ्चारमाध्यमले जनाएका छन् ।

चुनावताका ओबामा हेल्थकेयरको धुँवाधार विरोधी उनले राम्रा पक्षलाई सँगै लैजाने तथा हिलारीमाथि इमेल प्रकरणमा स्वतन्त्र जाँच आयोग बनाउने कुरामा मौन रहँदै आफ्नो रणनीति परिवर्तन गर्न लागेको जनाएका छन् (एजेन्सी)