पोखरा, कात्तिक २८ । नेपाली कांग्रेसनिकट भ्रातृ संस्था तरुण दलको महाधिवेशनअन्तर्गत आइतबारबाट बन्द सत्र हुरु भएको छ । ‘बीपीको सपना शान्ति, विकास र सुशासन, तरुण साझेदारीका लागि चौथो महाधिवेशन’ भन्ने नाराका साथ दश वर्षपछि शुरु भएको महाधिवेशनमा नेतृत्वका लागि कांग्रेस नेताहरुले भागवण्डा गरेर टाँस्ने पहल गर्दैछन् ।
सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण सिटौलाबीच पदाधिकारीमा भागवण्डाको पहल भइरहेको छ । अध्यक्षमा जीतजंग बस्नेतलाई ल्याउने तयारी भएको बताइएको छ । राजनीतिमा खासै संलग्न नरहेका तर बीपी कोइरालाका नाति तथा प्रकाश कोइरालाका छोरा सिद्धार्थ कोइरालालाई उपाध्यक्ष बनाउने तयारी गरिएको छ भने पौडेल पक्षलाई महामन्त्री दिएर पूर्व महामन्त्री प्रकाशमान सिंहका छोरालाई कोषाध्यक्ष बनाउने खेल पनि भइरहेको बताइएको छ ।
यस्तो भएमा सिटौला पक्षलाई एक उपाध्यक्ष दिइने छ । नेताहरुले नेतृत्व भागवण्डा गर्न लागेकामा लामो समय तरुण राजनीतिमा लागेकाहरुले भने आक्रोश पोखेका छन् ।
आइतबार बन्द सत्र र सोमबार निर्वाचन गर्ने भनिए पनि सबैको ध्यान नेतृत्वका लागि खिचिएको छ । तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसहित ७५ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छ ।









प्रतिक्रिया दिनुहोस्