Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


बन्द किन र केका लागि ! जनताले पत्तो पाउनै छाडे (भिडियो रिपोर्ट)


0
Shares

काठमाडौं, कात्तिक २८ । कुनै राजनीतिक दल र समूहले आफ्ना कथित माग पुरा गराउने हतियारका रुपमा बन्द आह्वान गर्नु नेपालमा ‘फेशन’ जस्तै बनेको छ । तर पछिल्ला वर्षहरुमा आम जनताको नाममा गरिने यस्ता बन्दले तिनै जनता कति प्रताडित हुन्छन् भन्नेतर्फ बन्द गराउनेहरुले कहिल्यै ध्यान दिएका छैनन् । त्यसैले त आम जनता यस्ता बन्द प्रति दिक्क बनेका छन् भने बन्दकर्ताहरुको चरित्र पनि उदांगो हुन थालेको छ ।

आइतबार बिहान एक्कासी सडकमा गाडीहरु कम चलेसँगै धेरैको अनुमान थियो, चिसो बढेका कारण सवारी साधनको चाप कम भएको होला । सडकमा गाडी कम चलेसँगै कतिपय विद्यालय र क्याम्पसको पठन पाठन पनि रोकिएको चर्चा चल्न थाल्यो । त्यसपछि धेरैले थाहा पाए, यसको कारण थियो– नेपाल बन्द ।

विगतमा हुने गरेका बन्द हड्तालको बारेमा कम्तीमा एक साता अघिदेखि प्रचार प्रसार गरिथ्यो, चर्चा परिचर्चा हुने गर्दथ्यो, तर यसपटकको बन्द धेरैले आइतबार बिहानमात्रै थाहा पाए । अझै अचम्मको कुरा त के छ भने सोझा निमुखा जनताको दुहाई दिएर गरिने यस्ता बन्द केका लागि गरियो भन्ने समेत यसपटक धेरैलाई थाहै भएन ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको भनिएको आइतबारको बन्दले काठमाडौं उपत्यकामा भाडाका गाडीहरु सञ्चालनमा केही कठिनाई देखिएपनि अन्य सवारी साधन तथा उद्योग धन्दा, कलकारखाना तथा पसलहरु पूर्ववत् अवस्थामै सञ्चालनमा थिए । एकाएक बन्दको हल्ला चलेपछि कतिपय विद्यालय र क्याम्पसले अन्तिम समयमा आएर पठन पाठन रोकेका थिए ।

सिंहदबार र सत्तामा रहेकाहरुको कार्यशैली र व्यवहारसँग असहमति जनाउँदै उनीहरुलाई दबाब दिन गरिएका कथित बन्दले विगतमा झै यसपटक पनि हुँदा खाने वर्गले नराम्ररी पीडा भोग्नुपर्‍यो । बन्दको त्रासमा भाडाका गाडीहरु पूर्ववत् अवस्थामा नचल्दा लामो तथा छोटो दुरीमा यात्रा गर्ने यात्रुहरुले निक्कै सास्ती भोग्नुपर्‍यो ।

तर जनताको नाम बेच्ने र आफूहरुलाई नै प्रताडित गर्ने गरी आह्वान गरिने यस्ता बन्दप्रति आम जनता पटक्कै खुसी देखिँदैनन् ।

हरेक पटक राज्यसँग विभिन्न माग राखेर राजनीतिक पार्टी तथा समूहले बन्द हड्ताल आह्वान गर्ने र त्यसको निशानामा उनै आम जनतालाई पार्ने गलत प्रबृत्ति बढ्दो छ । त्यसैले कुनै दल र पार्टीमा नलागेका आम जनता यस्ता गतविधिको सँधै विपक्षमा उभिएका छन् ।

कुनै समय थियो, बन्द र हड्तालमार्फत् आफ्ना जायज माग पुरा गर्ने, तर निरन्तरको बन्दबाट वाक्कदिक्क बनेका जनतालाई पीडा दिनेगरी जबर्जस्ती बन्द हड्ताल लाद्न खोजिनु किमार्थ राम्रो होइन । आउँदा दिनमा राजनीतिक दल र समूहले यसैगरी आम जनतालाई नै कष्ट हुने गरी बन्द गर्न खोजे बचेखुचेको विश्वाससमेत गुम्ने निश्चित छ ।

Skip This