
काठमाडौं, चैत १४ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको औपचारिक भ्रमणमा रहेका भारतका विदेशसचिव विजय गोख्लेले उनको सरकारी निवास बालुवाटारमा बिहीबार अपराह्न शिष्टाचार भेट गरे ।
त्यस अवसरमा उनीहरूबीच नेपाल–भारत सम्बन्धका साथै द्विपक्षीय व्यापारबारे विचार–विमर्श भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले बताए ।
यसैबीच, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग बिहीबारै सचिव गोख्लेले शिष्टाचार भेट गरे ।
भेटमा पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यसअघि, नेपाल र भारतका परराष्ट्रसचिवको नेतृत्वमा द्विपक्षीय वार्ता भएको थियो ।
वार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै भारतको सहयोगमा नेपालमा जारी कृषि, सम्पर्क विस्तार, रेल तथा जलमार्ग र अन्य भौतिक पूर्वाधार परियोजनाको कार्यान्वयनको स्थितिको समीक्षा भएको परराष्ट्रसचिव शंकरदास वैरागीले राससलाई बताए ।
बितेको एक वर्षमा भएका विकास–निर्माणका परियोजनाको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्दै दुवै देशका परराष्ट्रसचिवले समाधान हुन बाँकी विषयलाई शीघ्र निरुपण गर्न सहमति जनाएका छन् ।
द्विपक्षीय वार्तामा क्षेत्रीय चासोका विषयमा पनि छलफल भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र उनका भारतीय समकक्षी नरेन्द्र मोदीको नेपाल भ्रमणकाक्रममा भएका सहमति तथा परियोजना कार्यान्वयनमा दुई देशका परराष्ट्रसचिवले निकट सम्पर्कमा रहेर सहजीकरण गरिरहेका छन् ।
सचिव गोख्ले शुक्रबार नयाँदिल्ली प्रस्थान गर्नेछन् । उनको यो भ्रमण कूटनीतिक छलफल र संवादको नियमित पाटो हो । रासस
प्रतिक्रिया दिनुहोस्