
लन्डन, कात्तिक २९ । बेलायत लगायत विश्वका केही विकसित मुलुकका जेल खचाखच भरिएका छन् । तर नेदरल्याण्डमा भने कैदी विना केही जेल बन्द हुने अवस्थामा पुगेका छन् ।
नेदरल्याण्डको जेलमा पछिल्ला वर्षमा कैदीको संख्या निकै गिरावट आइरहेको छ । कैदीको संख्या कम भएकै कारण विगत केही वर्षमा त्यहाँका १९ जेल बन्द भइसकेका छन् । आगामी वर्षमा पनि केही जेल बन्द गर्ने सरकारको योजना छ ।
नेदरल्याण्डको जेलमा कुनै समय क्षमताभन्दा बढी कैदी हुने गर्दथे । तर हाल त्यहाँका जेलमा कैदीको संख्या घट्दै गएको हो । कुनै समय मै जेल जानेहरुको संख्यामा नेदरल्याण्डले ठूलो हिस्सा ओगट्ने गर्दथ्यो । अर्थात्, युरोपका जेलहरुमा नेदरल्याण्डको जेल अग्रपंक्तिमा आउँथ्यो, जहाँ ठूलो संख्यामा कैदी हुन्थे ।
हाल प्रति एक लाख जनसंख्यामा केवल ५७ जना नेदरल्याण्डको जेलमा छन् । यो दर बेलायतमा प्रति एक लाख जनसंख्यामा १४८ जना कैदमा रहेको पाइन्छ ।
नेदरल्याण्डमा कैदीलाई सुधार गर्ने सरकारी प्रयासका कारण नै जेलमा कैदीको संख्या घट्दै गएको विश्लेषकहरुको भनाइ छ । सन् २००५ देखि गत वर्षसम्म नेदरल्याण्डको जेलमा कैदीको संख्या १४,४६८ बाट घटेर ८, २४५ मा आएको छ ।
सन् २००५ मा नेदरल्याण्डमा लागू औषध कारोबारीमाथि गरिएको कारवाहीका कारण जेलमा कैदीको संख्या बढेको थियो । आपराधिक कानुनकी प्रोफेसर पोलिन स्कटका अनुसार नेदरल्याण्डमा लागू औषध कारोबारीमाथि मात्र कारवाही सीमित थिएन । उनका अनुसार प्रहरीले मानव तस्करी र आतंकवादमाथि पनि उत्तिकै सशक्त कारवाही थालेको थियो ।
नेदरल्याण्डमा न्यायाधीशले प्रायः अपराधीलाई जेलको सजाय दिनुभन्दा समाजसेवा र जरिवाना जस्ता सजायमा बढी जोड दिन्छन् । नेदरल्याण्डको जेलको व्यवस्था हेर्दै आएकी निर्देशक एन्जेलिन वान डेकका अनुसार जेलमा त्यस्ता कैदीलाई मात्र पठाइन्छ, जो समाजमा रहँदा अरुका लागि खतरनाक हुन सक्छन् ।
उनी भन्छिन्, ‘आफ्नो परिवार र काम धन्दा गर्दै अपराधको सजाय भोग्नु कहिलेकाहीँ प्रभावकारी हुन सक्छ ।’ मुलुकमा अपराध दर कमी हुँदै गएका कारण पनि जेलमा कैदीको संख्या घट्दै गएको उनको भनाइ छ ।
तर आलोचकहरु भने देशमा अपराध दर कम भएको तर्कसँग सहमत छैनन् । विगत ८ वर्षमा अपराध दरमा २५ प्रतिशत कमी आएको उल्लेख गर्दै उनीहरु बजेट कम गरेका कारण कतिपय प्रहरी स्टेशन बन्द गर्नु परेको छ, जसका कारण समाजका कयौं अपराध प्रहरीसमक्ष पुग्न नसकेको बताउँछन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्