Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


तरुण महाधिवेशनः जीतजंग बस्नेतलाई महाधिवेशन प्रतिनिधि बनाएर नेतृत्व सुम्पिने तयारी


0
Shares

प्रदीप पौडेल (इमेज)
पोखरा, कात्तिक २९ । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलको महाधिवेशनले विधान संशोधन गरेर निर्वाचन प्रक्रिया पूरा गर्ने भएको छ ।

सर्वसम्मत् नेतृत्व चयनका लागि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेता खुमबहादुर खड्काबीच सहमति भएपछि प्रक्रिया पूरा गरेरै अगाडि बढ्ने भएका छन् ।

तीन समूहले छुट्टाछुट्टै विधान पेस गरेपछि निर्वाचन समितिले अन्तिम विधान तयार गर्ने जनाइएको छ । विधान संशोधन भएपछि सोमबार साँझसम्म बन्दसत्र बस्ने जनाइएको छ ।

संशोधित विधानमा सातै प्रदेशका लागि एक–एक उपाध्यक्ष र सचिव हुनेछन् । त्यसैगरी, महामन्त्री वा महासचिव के राख्ने भन्ने टुंगो नभएपनि त्यो पदमासमेत दुईजना हुने स्रोतले बताएको छ ।

यसैबीच, तरुण दलको नेतृत्व सम्हाल्ने लगभग पक्काजस्तै भएका जीतजंग बस्नेत महाधिवेशन प्रतिनिधि नभएका कारण उनलाई पनि महाधिवेशन प्रतिनिधि बनाएर प्रक्रिया पूरा गर्न लागिएको बताइएको छ ।

नेताहरुको भागबन्डाअनुसार अध्यक्षले मनोनीत गर्ने पदाधिकारीमा देउवापक्षका १० जना, पौडेलपक्षका ६ जना र सिटौला तथा खड्कापक्षका चारजना राख्ने सहमति भएको जनाइएको छ ।

निर्वाचनको प्रक्रिया पूरा गर्दा महाधिवेशन कम्तिमा एकदिन लम्बिने निश्चित भएको छ ।

Skip This