२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


नेपाल इन्जिनियरिङ कलेजमा आर्थिक अनियमितता भएको ठहर


0
Shares

काठमाडौं, चैत १४ । भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजमा व्यापक आर्थिक अनियमितता भएको संसदीय छानबिन समितिले ठहर गरेको छ ।

कलेजमा आर्थिक अनियमितता भएको भन्दै कलेजका सन्चालकहरुले नै विरोध गरेपछि प्रतिनिधिसभाअन्तर्गत्को शिक्षा तथा स्वास्थ्य समितिले छानबिनका लागि उपसमिति बनाएको थियो ।

शिक्षा मन्त्रालयका उपसचिव डा. हरि लम्सालको संयोजगत्वमा गठन भएको ६ सदस्यीय समितिले बिहीबार शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाउँदै उक्त निष्कर्ष निकालेको हो ।

निजी स्वार्थ हावीका कारण कलेज सन्चालकहरुबाट आर्थिक अनियमितता भएको प्रतिवेदनमा उल्लेख छ ।

छानबिनकाक्रममा कलेजको ‘बैंक स्टेटमेन्ट’समेत हेर्न नदिइएको छानबिन समितिका सदस्यले बताए ।

छानबिन समितिका संयोजक डा. हरि लम्सालले आफूहरुको काम छानबिन गरेर प्रतिवेदन बुझाउने भएकाले त्यो पूरा गरेको भन्दै ‘प्रतिवेदनमा के छ भन्ने कुरा खुलाउन मिल्दैन’–भने ।

मुनाफारहित सार्वजनिक संस्थाकारुपमा सन्चालन भइरहेको नेपाल इन्जिनियरिङ कलेजलाई तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेको समूहले निजी क्षेत्रलाई बेच्ने प्रक्रिया अघि बढाएपछि विवाद सतहमा आएको थियो ।

सोही विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेकामा अख्तियारका तत्कालीन आयुक्त राजनारायण पाठकले न्यौपाने समूहबाट ७८ लाख रुपैयाँ घुस लिएको सार्वजनिक भएको थियो ।