
काठमाडौं, कात्तिक २९ । रेडबुल फुटसल लिग २०७३ अन्तर्गत् सोमबार भएका खेलहरुमा ढुकु फुटसल हब र कुमारी फुटसल विजयी भएका छन् ।
समूह ‘ए’को खेलमा बालुवाटारको ढुकु फुटसल हबले कौशलटारको इम्पेरियल फुटसललाई १३–३ को विशाल गोलअन्तरले पराजित गर्यो ।
खेलमा ढुकुलाई विजयी गराउन सविन केसी एक्लैले ७ गोल गरे । यसैगरी, सुरज राउतले ३ गोल गरे भने सिद्धान्त बस्नेत र छवी रोक्काले एक–एक गोल गरे ।
इम्पेरियलका बालकृष्ण केसीले एक आत्मघाती गोल गरेका थिए । पराजित टोली इम्पेरियल फुटसलका किसन अधिकारीले ह्याट्रिक गरे ।
यो जितसँगै ढुकु फुटसल हब रेडबुल फुटसल लिग २०७३ को समूह ‘ए’को अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।
७ खेलबाट उसको १२ अंक भएको छ । एक खेल कम खेलेको किकअफ फुटसल सीतापाइलाको १८ अंक छ ।
सोमबारै भएको दोस्रो खेलमा पकनाजोलको कुमारी फुटसलले हरिसिद्धि फुटसललाई ५–४ ले हरायो ।
पकनाजोलमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन अभिषेक रिजाल, सुबेत लामा, आलिग तामाङ, आशिष लामा र रुपेश क्षेत्रीले एक–एक गोल गरे ।
पराजित टोली हरिसिद्धिका लालबहादुर तामाङले ह्याट्रिक गरे भने रायफी महर्जनले एक गोल थपे ।
यो जितसँगै कुमारी फुटसल समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको छ । ७ खेलबाट उसको १४ अंक भएको छ ।
एक खेल कम खेलेको शंखमूल फुटसल १३ अंकसहित दोस्रो स्थानमा झरेको छ ।
प्रतिक्रिया दिनुहोस्