काठमाडौं, कात्तिक ३० । राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालबीच आगामी मंसिरमा पार्टी एकता हुने भएको छ । एकतापछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी नै रहने भएको छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका अध्यक्ष पशुपतिशमशेर जबराले मंसिर ६ गते काठमाडौंको प्रज्ञा भवनमा पार्टी एकता घोषणासभा गर्ने समझदारीपत्रमा मंगलबार हस्ताक्षर गरेका छन् ।
बलियो राष्ट्रवादी/प्रजातान्त्रिक शक्ति निर्माण गरी राष्ट्रियताको संरक्षण र प्रजातन्त्रको सुदृढीकरण गर्दै सबल र समृद्ध हिन्दू राष्ट्र नेपाल निर्माण गर्नु नयाँ एकीकृत पार्टीको लक्ष्य हुने समझदारी पत्रमा उल्लेख छ ।
राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार एकीकृत पार्टीको अन्तरिम विधान अनुमोदन गरिएको छ भने केन्द्रीय महाधिवेशन सकेसम्म आगामी माघभित्र सम्पन्न गरिने छ ।









प्रतिक्रिया दिनुहोस्