
न्यूयोर्क, कात्तिक ३० । आफ्नो घर–कम्पाउन्डमा तीनओटा बाघ, एउटा दुम्सी प्रजातिको पशु स्कंक, एउटा बाघजस्तै ठूलो कुगर बिरालो, एउटा फ्याउरो र थुप्रै जंगली बाँदर लुकाएर पालिरहेको भेटिएपछि एउटी अमेरिकी महिलालाई अवैध वन्यजन्तु लुकाएको आरोपमा पक्राउ गरिएको छ ।
टेक्सास राज्यको हस्टनमा एउटा घर भाडामा लिइ ३४ वर्षिया महिला ट्रिसा मियर आफ्नी १४ वर्षीया छोरीसहित यी जंगगली जनावरहरुसँग बस्दै आएकी थिइन् ।
महिनौंको खोजतलासपश्चात यिनले अवैध वन्यजन्तु लुकाएर राखेको स्थानीय प्रहरीले सुइँको पाएको थियो ।
मियरले बाघसम्म पाल्ने स्वीकृति पाएपनि अरु वन्यजन्तु राख्ने कुनै स्वीकृति नपाएको हस्टनको स्थानीय सन्चारमाध्यमहरुले जनाएका छन् । त्यसमाथि, उनले अरु मानिसहरुलाई बदमासी गरेको पनि रेकर्ड भेटिएको छ ।
उनले ‘सभान्ना’ जातको बिरालाको छाउरो दिन्छु भनी क्यालिफोर्नियाको एकजना मानिससँग तीन हजार अमेरिकी डलर लिएर पछि छाउरो दिइनन् ।
आफ्नो घर भाडामा लिने महिलाले अवैध वन्यजन्तु लुकाएर राखेको भन्ने कुरा प्रहरीबाट थाहा पाउनासाथ घरधनीले त्यहाँबाट निकालिदिएपछि सबै वन्यजन्तुसहित रातारात भागेर ती महिला अन्तै गइन् ।
प्रहरीले खोजतलास जारी राखेकोमा पछि उनलाई पश्चिमी अमेरिकी राज्य नेभादाको नाइ काउन्टीमा फेलापारी पक्राउ गरेको थियो ।
उनी हाल प्रहरी हिरासतमा छन् र उनले राखेका सबै वन्यजन्तुलाई प्रहरीले जफत गरेको छ ।
मियरलाई वन्यजन्तु चोरी र बालबालिकालाई खतरापन्न अवस्थामा राखेको अभियोग लगाइएको छ । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्