
फाइल फोटो
काठमाडौं, कात्तिक ३० । सर्वोच्च अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्की आफैं उपस्थित भएर मंगलबार लिखित जवाफ पेस गरेका छन् ।
सर्वोच्च अदालतले म्याद तामेलीमा अवरोध पुर्याएकामा कारबाही गर्न नपर्ने भए एक हप्ताभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न कार्कीविरुद्ध आदेश दिएको थियो । सोही आदेशअनुरुप निलम्बित आयुक्त कार्कीले लिखित जवाफ पेस गरेका हुन् ।
कार्कीको लिखित जवाफमा विपक्षीको मनसाय झूटो भएको आरोप लगाउँदै आफू घटना भएको भनिएको दिन विदेशमा रहेको हुनाले त्यसमा आफ्नो संलग्नता नरहेको उल्लेख छ ।
आफू सपरिवार अख्तियारकै परिसरभित्र बसोबास गर्दै आएको र पुरानोबानेश्वरस्थित घर भाडामा दिएकाले निजी निवासमा नभइ सरकारी निवासमा यसअघि पनि सर्वोच्चका कर्मचारीले म्याद बुझाएकाले न्यायिक प्रक्रियामा आफूले कुनै अवरोध नगरेको लिखित जवाफमा उल्लेख छ ।
‘तीन वर्षदेखि आफूसहित सपरिवार सरकारी निवसमा बसेको छु, भाडामा दिइएको घरमा म्याद तामेली गर्न किन परेको र सरकारी निवासमा गर्न किन नआएको’–कार्कीले लिखित जवाफमा उल्लेख गरेका छन् ।
अख्तियार प्रमुखमा कार्कीको नियुक्ति विवादलाई फेरि सुनुवाइ गर्ने निर्णयको म्याद तामेली गर्दा अवरोध पुर्याएकामा कारबाहीको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।
त्यसैगरी, अयोगका निलम्बित प्रमुख कार्कीको घरमा म्याद गर्न जाँदा अवरोध गरेको आरोप लागेका प्रहरी नायब निरीक्षक नहकुल गौतमले पनि मंगलबार सर्वोेच्च अदालतमा लिखित जवाफ पेस गरेका छन् ।
गौतमले लिखित जवाफमा आफ्नो कुनै संलग्नता नरहेको, बाटो परेरमात्र आफू त्यहाँ गएको हुँदा आफू निर्दोष रहेकोे उल्लेख गरेका छन् ।
सोमबार पूर्वसचिव प्रमोद कार्कीले पनि लिखित जवाफ बुझाएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्