
सप्तरी । सप्तरीमा माध्यमिक परीक्षा शिक्षा (एसइई) अन्तर्गत आज भएको विज्ञान विषयको प्रश्न पत्र आउट भएपछि परीक्षा नै रद्ध भएको छ ।
परीक्षा सुरु हुनु अघि नै प्रश्न पत्र आउट भएपछि परीक्षा रद्द गरी चैत्र २२ गतेलाई सारिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
हिजो राति नै सामाजिक सञ्जालमा प्रश्न पत्र आउट भएको देखिएपनि अनुसन्धानको क्रममा आज बिहान प्रश्नपत्र सामाजिक संजालमा सार्वजनिक भएको सरकारी अधिकारीहरुले निष्कर्ष निकालेका थिए ।
परीक्षार्थीले भने आउट भएको सोही प्रश्नपत्रबाट आजको परीक्षा दिएका थिए ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी तथा परीक्षा समन्वय समितिका संयोजक सुरेन्द्र पौडेलले भने सप्तरीबाट नभई अरु जिल्लाबाट प्रश्न पत्र आउट भएको दावी गरे ।
अर्कोतर्फ शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयमाथि आर्थिक चलखेल गरेर प्रश्न पत्र आउट गरेको आरोप लागेपनि कार्यालयका प्रमुख शंकर लुइँटेलले भने आरोप अस्वीकार गरे ।
यसअघि परीक्षालाई अमर्यादित बनाएको आरोपमा एक केन्द्राध्यक्ष, दुई सहायक केन्द्राध्यक्ष,चार निरीक्षक र १० जना परीक्षार्थी कारवाहीमा परेका छन् ।
सप्तरीमा यस वर्ष ३३ वटा केन्द्रमार्फत सञ्चालन भईरहेको एसईईमा ८ हजार ६ सय १८ परीक्षार्थी सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्