
काठमाडौं, मंसिर १ । विश्वकप फुटबल छनोटअन्तर्गत् दक्षिण अमेरिकी समूहको खेलमा ब्राजिल, अर्जेन्टिना, चिली, इक्वेडर र बोलिभिया विजयी भएका छन् ।
बुधबार बिहान भएको खेलमा ब्राजिलले पेरुलाई २–० ले हरायो । खेलमा ब्राजिललाई विजयी गराउन ग्याब्रिएल जिसस र रेनाटो अगस्टोले एक–एक गोल गरे ।
बुधबारै बिहान भएको अर्को खेलमा अर्जेन्टिनाले कोलम्बियालाई ३–० ले हरायो । खेलमा अर्जेन्टिनालाई विजयी गराउन लियोनल मेसी, लुकास प्राटो र एन्गेल डि मारियाले एक–एक गोल गरे ।
जितसँगै अर्जेन्टिनाको विश्वकप छनोट चरणमा खेपिरहेको दबाब केही मत्थर गरेको छ । अघिल्लो खेलमा ब्राजिलसँग ३–० ले पराजित भएपछि अर्जेन्टिनाको चौतर्फी आलोचना गरिएको थियो ।
विश्वकप छनोटकै अर्को खेलमा चिलीले उरुग्वेलाई ३–१ ले हराएको छ । खेलमा उरुग्वेका एडिन्सन काभानीले पहिलो गोल गरे पनि चिलीका अलेक्सिस सान्चेजले दुई तथा एडुवार्डो भार्गासले एक गोल गर्दै टोलीलाई विजयी गराएका हुन् ।
दक्षिण अमेरिकी समूहकै अरु खेलहरुमा बोलिभियाले पाराग्वेलाई १–० ले हराउँदा इक्वेडरले भेनेजुएलालाई ३–० ले पराजित गरेको छ ।
यी खेलपछि दक्षिण अमेरिकी समूहको अंक तालिकामा १२ खेलबाट २७ अंक जोडेको ब्राजिल शीर्ष स्थानमा छ ।
२३ अंक जोडेको उरुग्वे दोस्रो स्थानमा छ भने इक्वेडर र चिलीले समान २०–२० अंक जोडेका छन् । इक्वेडर अंकतालिकामा तेस्रो र चिली चौथो स्थानमा छन् ।
१९ अंक जोडेको अर्जेन्टिना पाँचौ स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया दिनुहोस्