
कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित पर्यावरणीय पार्क अतिक्रमणको चपेटामा परेको छ ।
४ दशकअघि १ सय बिघा रहेको पार्कको क्षेत्रफल अहिले ३५ बिघामा सीमित भइसकेको छ भने पार्कभित्रका रुख धमाधम मासिँदासमेत नियामक निकाय आफ्नो जिम्मेवारी नभएको भन्दै पन्छिँदै आएका छन् ।
२०५८ सालमा सरकारले कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ स्थित पर्यावरणीय पार्ककै जग्गामा मुक्त कमैया, हलिया र सुकुम्बासीलाई बसोबासको व्यवस्था गरेपछि रुखहरु मासिने क्रम सुरु भयो ।
रुखको फेदमा आगो लगाउने, मनपरी बोक्रा खुर्किने, हाँगा काट्ने गरेका कारण कैयौँ रुख सुकिसकेका छन् । सँगसँगै जग्गा अतिक्रमणको क्रम पनि तीव्र बन्दै गएको छ ।
डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार रुखसहित जग्गा नगर विकास समितिलाई हस्तान्तरण गरेकाले संरक्षणको दायित्व सोही निकायको हो ।
रुख मासेको रंगेहात पक्राउ परेको बाहेक अन्य विषयमा आफूहरुले हस्तक्षेप गर्न नमिल्ने डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजन प्रमुख मोहनराज काफ्ले बताउँछन् ।
यता, नगर विकास समिति भने २०३२ सालमा बनेको गुरुयोजना अनुसार आफूहरुलाई जग्गा मात्र दिएको भन्दै रुख संरक्षणमा उदासीन बनेको छ ।
बस्ती विस्तारका क्रममा केही रुख काटिएको बताउँदै यस विषयमा वन कार्यालयले नै निगरानी गर्नुपर्ने महेन्द्रनगर नगर विकास समितिका सूचना अधिकारी पुष्पराज भट्टले बताए ।
डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजन प्रमुख मोहनराज काफ्ले भने रुख बेचेबापतको रकम नगर विकास समितिले नपाउने भएकाले संरक्षणमा उदासीन भएको हुन सक्ने टिप्पणी गरे ।
सरोकारवाला निकायबीच जिम्मेवारीबोधको अभावको परिणामस्वरुप नगरपालिकाभित्रको एकसय विघाको हरियाली क्षेत्र कटौती हुँदै गएको छ ।
जिम्मेबारी कसको भन्ने सम्बन्धमा देखा परेको मतभेदलाई दुवै निकायको समन्वयमा निराकरण गरी यस क्षेत्रको हराभरालाई कायम राख्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस्