Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


रुकुमको जन्ति बस्ने लेकबाट उड्ने भयो प्याराग्लाईडिङ(भिडियो हेर्नुहोस)


0
Shares

-रुद्रगोपाल डाँगी, ईमेज

रुकुम, मंसिर २ । रुकुममा प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । पहिलो पटक जन्ती बस्ने लेकबाट पाँच वटा प्याराग्लाईडिङको सफल उडान गराइएसँगै जिल्लामा प्याराग्लाइडिङ सञ्चालनको सम्भाव्यता बढेको हो ।

रुकुममा पर्यटकलाई लक्षित गरी प्याराग्लाईडिङ संचालन गर्न लागिएको हो । रुकुम भ्रमण बर्ष २०७३ को सुरुवात संगै रुकुममा पर्यटक भित्र्याउन पर्यटन प्रवद्र्धनका कामहरु संचालन भैरहेको रुकुमका स्थानीय विकास अधिकारी नरेन्द्र कुमार राना बताउँछन् ।

जिल्ला विकास समिति अन्तर्गतको पर्यटन समन्वय समितिको सहयोग तथा पर्यटन प्रवद्र्धन वातावारण संरक्षण केन्द्र रुकुमकोे समन्वयमा नेपाल एग्रो टिमले मुसिकोट नगरपालिकाको जन्ति बस्ने लेकबाट विमानस्थलसम्म प्याराग्लाईडिङको सफल परीक्षण गरेका हुन् । प्याराग्लाईडिङको सफल परीक्षणसंगै पर्यटन व्यवसायी समेत उत्साहित भएका छन् ।

प्यारागलाईडिङ संचालनको सम्भाव्यता अध्ययन गरी जिल्लामा साहसिक पर्यटनको प्रवद्र्धन गर्ने र प्यारागलाईडिङमा व्यवसायिकता सुरु गर्ने प्रमुख लक्ष्य राखिएको छ ।

प्यारागलाईडिङ संचालन संगै जिल्लाको समग्र पर्यटन विकासमा ठुलो टेवा पुग्ने पर्यटन प्रवद्र्धन वातावरण संरक्षण केन्द्रका अध्यक्ष चन्द्र बहादुर केसी बताउँछन् ।

रुकुमकोट गाविसको झुम्कामारे लेक र बाँफिकोटको झार्लेगोठ लेकमा पनि प्याराग्लाईडिङ परीक्षण गरिने भएको छ ।

रुकुममा प्याराग्लाईडिङको टेकअप राम्रो भएपनि ल्याडिङको भने समस्या रहेको पाईलटहरु बताउंछन् । सल्ले एरपोर्ट बाहेक अन्य खुल्ला ठाउं नहुंदा अहिले एरपोर्टमै ल्याडिङ गरिएको छ ।

ल्याडिङको समस्या रहेपनि रुकुममा प्याराग्लाईडिङको राम्रो सम्भावना रहेको पाईलटहरुले बताएका छन् । रुकुमका आकाशमा पहिलो पटक प्याराग्लाईडिङ देख्दा स्थानीय भने निकै हर्सित बनेका छन् ।

प्यारागलाईडिङबाटै पर्यटकहरुलाई लोभ्याउने खालका मनोरम दृश्य देख्न सकिने भएको कारण समेत रुकुममा यसको राम्रो सम्भावना देखिएको छ ।

प्यारागलाईडिङबाट स्यार्पु ताल, डिग्रे भगवती मन्दिर, कमल ताल, सानी भेरी, ठुली भेरी नदी, सिस्ने, पुथा हिमाल, बिभिन्न झरनाहरुको अवलोकन गर्न सकिन्छ ।