
-निरञ्जन अधिकारी/कविर महर्जन, ईमेज
काठमाडौं, मंसिर २ । सोलिडारिटी कप फुटबलको उपाधि जित्न सफल नेपाली फुटबल टोली बुधबार बेलुका स्वदेश फर्किएको छ ।
टोलीलाई त्रिभुवन विमानस्थलमा खेलकुदमन्त्री दलजित श्रीपाईली, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशबकुमार विष्ट, अखिल नेपाल फुटबल संघका पदाधिकारीलगायतले भव्य स्वागत गरे ।
गत वर्ष फागुनमा बंगबन्धु गोल्डकप, त्यसपछि दक्षिण एशीयाली खेलकुद सागमा फुटबलतर्फको स्वर्ण पदक, अनि अहिले एएफसी सोलीडारीटी कप फुटबल ।
नेपाली फुटबल टोलीले लगातार हात पारेको ऐतिहासिक तर दुर्लभ उपलब्धी हुन् यी ।
एशीयाली फुटबल महासंघ एएफसीले यसै वर्षदेखि सुरु गरेको सोलिडारिटी कप फुटबलको उपाधि जित्दै नेपाली टोलीले अन्तराष्ट्रिय फुटबलमा नेपाल विजयी लयमा अघि बढेको सन्देश झनै बलियो पारेको छ ।
सोलिडारीटी कप फुटबलको उपाधिसहित स्वदेश फर्किएको टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा भब्य स्वागत गरियो ।
चिसो मौसम र घर्कीदो रातको परबाह नगरी सयौं फुटबलप्रेमी बिमानस्थल पुगे र टोलीको स्वागतमा जुटे । यही साथ र समर्थनबाट हौसिएका राष्ट्रिय फुटबलरहरुले पनि अझै धेरै अगाडि पुगेर देखाउने प्रण गरे ।
अन्य खेलाडीहरुजस्तै नेपाली टोलीका कप्तान बिराज महर्जन र सहायक प्रशिक्षक राजु काजी शाक्य पनि टोलीको प्रदर्शनबाट निकै उत्साहित छन् ।
नेपालले लगातार तीन प्रतियोगिता जितेर आफ्नो सफलता भाग्यभन्दा धेरै माथि रहेको प्रमाणित गरेका छ ।
नेपाली टोलीको लगातारको सफलता त्यतीवेला आएको छ, जतिवेला नेपाली फुटबललाई यसको सबैभन्दा बढि खाँचो छ ।
आन्तरिक विवादले निम्त्याएको बाह्य हस्तक्षेप र प्रभावका बिच थलिएको नेपाली फुटबललाई फेरी स्वाभिमानी र गौरवशाली बाटोमा फर्काउन नेपाली युवा खेलाडीहरुले गरेको प्रदर्शन र योगदानको कदर गर्नैपर्छ ।
यी खेलाडीहरुलाई एक दुई दिनको सम्मान र कोठे कार्यक्रममा अलमल्याउने भन्दापनि व्यावसायीक ग्यारेन्टी हुनुपर्छ । राष्ट्रको शिर उँचो पार्ने स्वयं खेलाडीले शिर निहुराउनुपर्ने अवस्था अब यो मुलुकमा नआओस ।
प्रतिक्रिया दिनुहोस्