
वासिंटन, मंसिर २ । विश्वका विभिन्न मुलुकका नागरिक अमेरिकामा बसोबास गर्न लालयित हुने गरेका छन् तर कयौं अमेरिकीहरु नै अमेरिका छाड्न इच्छुक देखिएका छन् ।
हालै प्रकाशमा आएको एक तथ्यांक अनुसार कयौं अमेरिकी नागरिकले बसोबासका लागि उपयुक्त स्थानको खोजीमा सर्च इन्जिन ‘गूगल’ को प्रयोग गरेका छन् । उनीहरुले अमेरिका बाहिर कुन मुलुकमा बसोबास राम्रो हुन्छ, कहाँको रहन सहन र हावापानी कस्तो छ जस्ता विषयमा ‘गूगल’ मा व्यापक खोजी गरेका हुन् ।
अमेरिकामा पछिल्ला केही महिना ‘गूगल सर्च’ को तथ्यांक हेर्ने हो भने कयौं अमेरिकीहरु अमेरिका छाडेर बेलायत, अस्ट्रेलिया, क्यानाडा लगायतका मुलुकमा बसोबास गर्ने सोच बनाएर आवश्यक जानकारी लिइरहेका पाइन्छन् ।
आखिर किन अमेरिकीहरु मुलुक छाड्ने सोच बनाइरहेका छन् ? यो प्रश्नको सटिक जवाफ पाउन सकिएको छैन । तर भनेजस्तो रोजगारीको अभाव, दैनिक जीवन धान्न बढ्दो आर्थिक भार, असुरक्षा जस्ता कारणले उनीहरु देश छोड्न चाहन्छन् भन्ने अनुमान गर्न सकिन्छ ।
अमेरिका, बेलायतजस्ता विकसित मुलुकका नागरिकहरुले देश छाड्ने सोच बनाइरहेको अवस्थामा केही मुलुकले भने उनीहरुलाई लक्षित गर्दै ‘आकर्षक प्याकेज’सहित उनीहरुलाई भित्र्याउने योजना पनि अघि सारेका छन् ।
न्यूजिल्याण्डको क्यान्टागाटामा कयौं घर र जमिन उपयोगविहीन छन् । स्थानीय प्रशासनले सस्तो दरमै ती घर र जमिन उपलब्ध गराउने प्याकेज तयार पारेको छ ।
अस्ट्रेलियाको तस्मानिया राज्यमा पनि बेलायती नागरिकलाई लोभ्याउने गरी प्याकेज घोषणा गरिएको छ । डेरी फार्म संचालन गर्ने दक्षता भएका बेलायती नागरिकलाई ध्यानमा राखी त्यस्तो प्याकेज बनाइएको हो ।
आयरल्याण्डले पनि सूचना प्रविधिमा दक्ष विदेशीका लागि आकर्षक स्किम बनाएको छ । करिब तीन हजारको संख्यामा दक्ष सूचना प्राविधिकको खोजीमा रहेको सो मुलुकले विदेशीहरुलाई आकर्षित गर्न विभिन्न प्रस्ताव राखेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्