१ भाद्र २०८२, आइतबार | Mon Aug 18 2025


सवारी साधनको चाप बढेपछि रसुवागढी नाकामा टोकन प्रणाली लागु


0
Shares

रसुवा, मंसिर २ । नेपाल र चीनबीच सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढीमा आइतबारदेखि यातायात सञ्चालनमा टोकन प्रणाली लागु हुने भएको छ ।

नाकामा सवारी साधनको चाप उच्च हुन थालेपछि जिल्ला प्रशासन कार्यालय रसुवाले टोकन प्रणाली लागु गर्न लागेको हो ।

चीनसँगको व्यापारिक नाकालाई व्यवस्थित बनाउन मालबाहक कन्टेनरलाई व्यवस्थापन गरी ट्राफिक समस्या समाधान गर्न टोकन प्रणालीको काम अगाडि बनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

रसुवागढी नाकामा अहिले दैनिक २ सयभन्दा बढी मालबाहक कन्टेनर सञ्चालनमा छन् ।

जिल्लामा पार्किङ गर्ने निश्चित ठाउँ नहुँदा सवारी साधन जथाभावी रोक्ने गरेका कारण साँघुरो बाटोमा मालबाहक कन्टेनरका चापले रसुवागढी जलविद्युत् आयोजनाको कामसमेत प्रभावित हुने भएपछि ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ ।

टोकन सिष्टम लागु भएपछि केरूङबाट सामान बोकेर आएका दैनिक ५० वटा कन्टेनर मात्र नेपाल भित्रन पाउने छन् ।

त्यस्तै सामान लिन केरूङ जान लागेका ५० वटा खाली कन्टेनर रसुवागढी जान पाउने व्यवस्था गर्न लागिएको प्रहरी नायब उपरिक्षक फणिन्द्र प्रसाईंले बताए ।