१ भाद्र २०८२, आइतबार | Mon Aug 18 2025


बागलुङमा १० स्थानीय तह प्रस्ताव, यस्तो छ खाका, पान्डवखानी गाविस आन्दोलित


0
Shares

बागलुङ, मंसिर २ । बागलुङ जिल्लामा १० ओटा स्थानीय बनाउन प्रस्ताव गरिएको छ ।

स्थानीय तह पुनःसंरचना जिल्ला प्राविधिक सहयोग समितिका अनुसार चार नगरपालिका र ६ ओटा गाउँपालिका बनाउने प्रस्ताव स्थानीय तह पुनःसंरचना आयोगमा पठाइएको छ ।

राजनीतिक दलहरुबीच पूर्णसहमति नजुटे पनि अधिकतम् सहमतिका आधारमा १० ओटा निकाय प्रस्ताव गरिएको समितिका संयोजक एवं स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले बताए ।

नेपाली कांग्रेसबाहेकका सबै दलले प्रस्तावमा साझा सहमति कायम गरेको समितिले जनाएको छ । प्रस्तावमा बागलुङ, गलकोट, जैमिनी र ढोरपाटन नगरपालिका रहने उल्लेख छ ।

६ गाउँपालिकामा बरेङ, काठेखोला, निसीखोला, बडीगाढ, स्वायत्त क्षेत्रकारुपमा ताराखोला र विशेष क्षेत्रकारुपमा तमानखोला गाउँपालिका प्रस्ताव गरिएको समितिका सदस्य सचिव खिम विकले जानकारी दिए ।

बागलुङ नगरपालिकामा हालका वडाका अतिरिक्त मालिका, तित्याङ, भकुन्डे, रायडाँडा, अमलाचौर, नारायणस्थान, पैंयूपाटा, ६ नम्बर वडाबाहेकको सिगाना र पालाकोट गाविसको वडा नम्बर–६, ७, ८ र ९ लाई समावेश गरिएको छ ।

कुश्मीसेरा केन्द्र रहने गरी प्रस्ताव गरिएको जैमिनी नगरपालिकामा कुश्मीसेरा, दमेक, सर्कुवा, विनामारे, अर्जेवा, जैदी, छिस्ती र पैंयूथन्थापका वडा नम्बर–३, ४, ५, ६, ७ र ८ लाई समावेश गरिएको छ ।

मजुवा केन्द्र रहने गरी प्रस्ताव गरिएको गलकोट नगरपालिकामा आठ गाविसमा समावेश छन् । जसमा मल्म, काँडेबास, हटिया, नरेठाँटी, दुदिलाभाटी, हरिचौर, पाण्डवखानीको ३ र ४ वडा र रिघा गाविसको वडा नम्बर–३ र ६ समावेश गरिएको छ ।

यस्तै, बुर्तिबाङ केन्द्र रहन गरी बुर्तिबाङ, अधिकारीचौर, राजकुत, बोबाङ र खुंगा गाविस समेटिएको ढोरपाटन नगरपालिका प्रस्ताव गरिएको छ ।

बरेङ केन्द्र रहने गरी सातओटा गासी समेटेर बरेङ गाउँपालिका प्रस्ताव गरिएको छ । जसमा पैंयूथन्थाप गाविसको वडा नम्बर–१, २ र ९ सहित रांखानी, धुल्लुबाँस्कोट, हुग्दीशिर, बाटाकाचौर, सल्यान र सुखौरा गाविस समाहित छन् ।

अक्षेते सुल्डाँडा केन्द्र रहने गरी आठओटा गाविस समेटेर काठेखोला गाउँपालिका प्रस्ताव गरिएको छ ।

पाला गाविसका १, २, ३, ४ र ५ वडासँगै भीमापोखरा, तंग्राम, धम्जा, बिहुँकोट, लेखानी, रेश र सिगाना गाविसको ६ वडा उक्त गाउँपालिका समावेश गरिएको छ ।

झिँवाखोला केन्द्र रहने गरी प्रस्तावित निसीखोला गाउँपालिकामा निसी, देवीस्थान र बोहरागाउँ गाविस समावेश छ ।

ग्वालीचौर खर्बाङ केन्द्र रहने गरी ९ गाविस समेटेर बढीगाड गाउँपालिका प्रस्ताव गरिएको छ । जसमा दर्लिङ, भीमगिठे, ग्वालीचौर, जलजला, रणसिंहकिटेनी, दुगातुम्डाँडा, सिसाखानी, पान्डवखानीको १, २, ५, ६, ७, ९ र रिघा गाविसका वडा नम्बर–१, २, ४, ५, ७, ८ र ९ समावेश गरिएको छ ।

यस्तै, भातखाने डाँडा केन्द्र रहने गरी स्वायत्त क्षेत्रका रुपमा ताखोला गाउँपालिका प्रस्ताव गरिएको समितिले जनाएको छ । जसमा ताराखोला, हिल, अर्गल र अमरभूमि गाविस समावेश छ ।

साथै, दोभान केन्द्र रहने गरी विशेष क्षेत्रका रुपमा तमान, खुंखानी र बोंगादोभान समावेश गरेर तमानखोला गाउँपालिका प्रस्ताव गरिएको छ । प्रस्तावप्रति नेपाली कांग्रेस बागलुङले फरक मत राखेको छ ।

कंग्रेसले क्षेत्र नम्बर–३ मा पाँचओटा स्थानीय तह बनाउनुपर्ने, पाला र सिगाना गाविसका वडा विभाजन गर्न नहुनेलगायतका फरक मत राखेको छ । समितिले फरकमतसहितकै प्रस्ताव आयोगमा पठाएको छ ।

आयोगले निर्धारण गरेको समयसीमामा स्थानीय तहको टुंगो लगाउन नसकेका दलहरुले १० दिन ढिलो गरी सहमति जुटाएका हुन् ।

गाविस टुक्र्याइएपछि आन्दोलन
स्थानीय तह पुनःसंरचनामा आफ्नो गाउँलाई विभाजन गरिएपछि पान्डवखानी गाविस आन्दोलित छ ।

सिंगो गाविसलाई प्रस्तावित गलकोट नगरपालिकामा समेट्न माग गर्दै ‘अखन्ड पान्डवखानी’ संघर्ष समिति गठन गरेर गाविसवासी निर्णय सच्चाउन सदरमुकाम आएका छन् ।

समितिका संयोजक राधिका पुनले गाविस टुक्र्याउने निर्णय आफूहरुलाई मान्य नहुने बताइन् ।

जिल्ला तहमा बसेर राजनीतिक दलहरुले पान्डवखानी गाविसलाई प्रस्तावित गलकोट नगरपालिका र बढीघाट गाउँपालिकामा विभाजन गरेका थिए ।

जसमा पान्डवखानीका वडा नम्बर–३ र ४ गलकोटमा र बाँकी सबै वडा बढीघाट गाउँपालिका समाहित हुने उल्लेख छ । रासस