
काठमाडौं, मंसिर २ । नेपालका प्रधानसेनापति राजेन्द्र क्षत्रीले बंगलादेशका राष्ट्रपति अब्दुल हमिदसँग शिष्टाचार भेट गरेका छन् ।
बंगलादेशको राजधानी ढाकामा बुधबार भएको उक्त भेटमा नेपाल र बंगलादेशको द्विपक्षीय सम्बन्ध तथा दुई देशका सेनाबीच रहेको घनिष्ट सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।
सो अवसरमा प्रधानसेनापति क्षत्रीले २०७२ साल वैशाखमा नेपालमा गएको भूकम्पकोबेलामा बंगलादेश सरकारले गरेको सहयोगका लागि आभार व्यक्त गरेका थिए भने राष्ट्रपति हमिदले भूकम्पपछिको पुनःनिर्माणको अवस्थाका विषयमा चासो व्यक्त गरेका थिए ।
भेटघाटका अवसरमा नेपालका कार्यबाहक राजदूत धनबहादुर वली, भ्रमणदलका सदस्य, नेपाली दूतावासका सैनिक सहचारीसमेतको उपस्थिति रहेको दूतावासद्वारा विहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रधानसेनापति क्षत्री बंगलादेशका सेना प्रमुख अबु बेलाल मुहम्मद सफिउल हकको निमन्त्रणामा बंगलादेश गएका हुन् । रासस
प्रतिक्रिया दिनुहोस्