Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


नेपाली बृहत् शब्दकोश २०७२ सच्याउने निर्णय


0
Shares

काठमाडौं, मंसिर २ । नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषाको वर्णविन्यासमा उठेका विवादका आधारमा नेपाली बृहत् शब्दकोश २०७२ सच्याउने निर्णय गरेको छ ।

गत कात्तिक ३० गतेको प्राज्ञिक परिषद् बैठकले सो निर्णय गरेको विहीबार आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले जानकारी दिए ।

उनले भने–‘नेपाली भाषाको परिवर्तनका लागि प्रयास गरिएको भएपनि त्यो विवादास्पद बनेको हुँदा सबैले स्वीकार्ने गरी व्याकरण बनाइन्छ ।’

नेपाली भाषा बचाउ आन्दोलनलगायतले मानक नेपाली भाषाको मौलिकतामा प्रहार गर्न नहुने भन्दै आवाज उठाएपछि प्रतिष्ठानले यसबारे पुनरवलोकन गर्न भाषाविद् प्रा. डा. चूडामणि बन्धुको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो ।

प्रतिष्ठानले सरोकार भएका पक्षसँगको समन्वय तथा छलफलबाट समयसापेक्ष नेपाली भाषाको वर्णविन्यास परिवर्तनका लागि प्रयत्न गरेपछि सोसम्बन्धी विवाद सर्वोच्च अदालतमा पुगेको थियो ।

दर्शनको अनुसन्धानमा जोड
यसैबीच, प्रतिष्ठानअन्तर्गत् दर्शन विभागले अन्तर्राष्ट्रिय दर्शन दिवसका अवसरमा विहीबारै आयोजना गरेको अन्तरक्रियामा अहिलेको नयाँपुस्ताले दर्शनका उपयोगितालाई थप खोज अनुसन्धान गर्नुपर्नेमा जोड दिइयो ।

विद्वान् काशीनाथ न्यौपानेले बौद्धदर्शनसम्बन्धी कार्यपत्र प्रस्तुत् गर्दै नेपाली समाजको विकासमा प्राचीन दर्शनको महत्व रहेकाले त्यसलाई अहिलेको पुस्ताले गहिराइमा बुझ्न खाँचो रहेको औंल्याए ।

विभागका प्रमुख प्रा. दिनेशराज पन्तले विश्व परिवेशमा तत्व ज्ञान तथा व्यावहारिक ज्ञानको गहिरो खोजी पूर्वीय दर्शनमा पाइने बताउँदै यसबारे अनुसन्धान गर्नुपर्नेमा जोड दिए । रासस

Skip This