२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


भूकम्पबाट क्षतिग्रस्त बौद्धस्तुपा पुनर्निर्माण सम्पन्न, यस्तो बन्यो (भिडियो)


0
Shares

काठमाडौं, मंसिर ३ । गतवर्षको भूकम्पका कारण क्षतिग्रस्त बनेको काठमाडौंको ऐतिहासिक बौद्धस्तुपाको पुनर्निर्माण सम्पन्न भएको छ ।

भूकम्पले विश्व सम्पदा सूचीमा सूचीकृत उपत्यकाका ७ सम्पदामा क्षति पुर्‍याएको भए पनि बौद्धस्तुपाको पुनर्निर्माण सबैभन्दा पहिले सम्पन्न भएको सम्पदा हो ।

पाँचौ शताब्दीमा निर्माण भएको विश्वास गरिने करिब ३६ मिटर अग्लो काठमाडौंको बौद्धस्तुपा २०७२ साल बैशाख १२ को भूकम्पले क्षतिग्रस्त बन्यो । नेपाल र नेपालीको सान, अनि विश्वभरका बौद्धधर्मावलम्बी तथा पर्यटकहरुको रोजाईको केन्द्र, दक्षिण एसियाकै अग्लो बौद्ध स्तुपालाई भूकम्पले क्षति पुर्‍याएसँगै बौद्धधर्मावलम्बीहरु धेरैको मन रोयो । धेरैले यसको पुनर्निर्माणका सक्दो सहयोग गर्ने बचनमात्रै दिएनन्, आ–आफ्नो गच्छे अनुसारको सहयोग गरे ।

सुन हुनेले सुन दिए, धन हुनेले धन, अनि मनमात्रै हुनेले श्रमदान गरे । भूकम्पले क्षतिग्रस्त बनाएका काठमाडौंका अन्य पुरातात्विक महत्वका सम्पदामा झार उम्रिरहँदा बौद्धनाथ स्तुपा भने झकिझाउ भएको छ ।

शुक्रबारदेखि शुरु भएको पूजाआजासँगै मंसिर ७ गतेको भव्य उद्घाटन गर्ने तयारी छ । बौद्धनाथ चैत्य सरसफाई तथा सरसजावटका लागि भ्याइ–नभ्याई छ । बौद्ध स्तुपा अहिले बाहिरबाट हेर्दा पुरानै स्वरुपमा देखिन्छ तर विगतको भन्दा अत्यन्तै आकर्षक देखिएको छ ।

पुनर्निर्माण गरिएको बौद्धस्तुपालाई अब ८ रेक्टर स्केलसम्मको भूकम्पले क्षति पुर्‍याउन नसक्ने दाबी बौद्धनाथ क्षेत्र विकास समितिको छ ।

स्तुपा निर्माणका लागि हालसम्म करिब २३ करोड रुपैयाँ खर्च भएको अनुमान गरिए पनि वास्तविक विवरण मंसिर ७ गतेकै औपचारिक कार्यक्रममा सार्वजनिक गर्ने तयारी समितिको छ । बौद्धनाथ स्तुपाको पुनर्निर्माणमा करिब ३१ किलोग्राम सुन खर्च गरिएको छ ।

स्तुपाको गजुर, मोलम्बा तथा अन्य पाताहरुमा जलपको रुपमा सुन प्रयोग गरिएको छ । बौद्धस्तुपासँगै भूकम्पले भत्काएका आसपासका अन्य विभिन्न चैत्य र पर्खाल निर्माण र मर्मत कार्य पनि सम्पन्न भएको छ । त्यसैले अहिले बौद्धनाथ क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको ओइरो लाग्न थालेको छ ।

२०७२ साल जेठ १० गतेदेखि पुनर्निर्माण शुरु गरिएको बौद्धनाथ स्तुपा स्थानीयवासिन्दा, विदेशमा रहेका बौद्धधर्मका अनुयायी तथा विदेशी पर्यटकको सहयोगमा यसको निर्माण कार्य सम्पन्न भएसँगै बौद्धधर्मावलम्बी मात्रै होइन विदेशी पर्यटक पनि खुसी देखिन्छन् ।

भूकम्पबाट देशका विभिन्न पुरातात्विक महत्वका सम्पदालाई क्षति पुर्‍याएर सरकारले यसको पुनर्निर्माणका लागि विदेशी दाता र सहयोगीहरुलाई गुहारिरहेका बेला स्थानीय वासिन्दा तथा बौद्ध अनुयायीहरुले करिब १८ महिनामै बौद्धनाथ क्षेत्रको पुनर्निर्माण सम्पन्न गरी उदाहरणीय काम गरेका छन् ।