
न्यूयोर्क, मंसिर ३ । जापानी प्रधानमन्त्री शिन्जो अबेले नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमा अचम्मकै आत्मविश्वास रहेको उल्लेख गरेका छन् ।
न्यूयोर्कस्थित ट्रम्प टावरमा पहिलो विदेशी नेताका रुपमा ट्रम्पलाई भेट्दै अबेले द्विपक्षीय सम्बन्ध सुदृढ गर्न सक्ने विश्वास पनि आफूलाई भएको उल्लेख गरे । निकै सौहार्द्रपूर्ण वातावरणमा ट्रम्पसँग करिब ९० मिनेट भेटवार्ता भएको पनि अबेले बताए ।
चुनावी अभियानमा अभिव्यक्त भनाइका कारण ट्रम्पको समयमा लामो समयदेखिका अमेरिकी मित्रहरुसँग सम्बन्ध बिग्रनसक्ने आशंका गरिएकै बेला भएको भेटको सन्देश भने सकारात्मक देखिएको छ ।
दोस्रो विश्वयुद्धको समाप्तिपछि जापानको आर्थिक पुनर्निर्माणमा सघाउँदै आएको अमेरिका र जापान विश्व राजनीतिक रंगमञ्चमा मूख्य सहयात्री देखिँदै आएका छन् ।
जापानको सुरक्षा अमेरिकी सैनिकले गर्नुपर्ने भए उसले अमेरिकालाई भुक्तानी गर्नुपर्ने अभिव्यक्ति दिएकै कारण ट्रम्पको कार्यकालमा अमेरिकाका असली मित्रहरुसँगको सम्बन्धमा तिक्तता आउनसक्ने आशंका गरिएको थियो । दोस्रो विश्व युद्धपछि जापानमा अमेरिकाका हजारौं सेना रहेका छन् ।
टोकियोमा जापानको विदेश नीतिका सम्बन्धमा विशाल प्रदर्शन भएको बेला दुई नेताबीच न्यूयोर्कमा भेटवार्ता भएको हो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्