
काठमाडौं, मंसिर ३ । स्वरसम्राट स्वर्गीय नारायण गोपाल गुरुवाचार्यको काठमाडौं किलागलस्थित पुख्र्यौली घर संरक्षणको अभावमा खण्डहरका रुपमा परिणत भएको छ ।
भूकम्पअघि पाँच तल्लाको घर भूकम्पपछि माथिल्लो २ तल्ला बस्नै नहुने गरि चर्किएको छ । यतिबेला ३ तल्ला कायम गरिएको उक्त घरको प्रायः सबै तल्लामा परम्परागत आँखी झ्याल राखिएका छन् ।
नारायण गोपालका चार दाजुभाई मध्ये मनोहर गोपाल र लक्ष्मण गोपाल गुरुवाचार्यको नाममा रहेको यो घर भूकम्पपछि खण्डहरझैं बनेको हो । करिब दुई आनामा बनेको घरमा लामो समयदेखि नारायण गोपालका दाजुभाई पनि बस्दैनन् ।
भूकम्पपछि बस्नै नहुने अवस्थामा रहेको घरमा पुरातात्विक महत्वका वस्तुहरु अहिले पनि जस्ताको तस्तै देख्न पाईन्छ । तर संरक्षण गर्ने जिम्मा कसैले नलिँदा यहाँ रहेको महत्वपूर्ण चिजबिजनै हराउने सम्भावना रहेको छ ।
आफ्नै देशको सरकार र स्थानीयस्तरबाटसमेत उपेक्षित बन्दै गएको स्वरसम्राट नारायण गोपालको यस पुख्र्यौली घर हेर्न विदेशी भने गुगल सर्च गरेरै पुग्ने गरेका छन् । विक्रम सम्वत १९९६ सालमा यही घरमा जन्मिएका नारायण गोपाल नेपाली संगीतआकाशका कहिल्यै नअस्ताउने तारा हुन् ।
नारायण गोपाल सबै नेपालीका सर्वप्रिय गायक हुन् । आफ्ना गीतहरुले सबैलाई मन्त्रमुग्ध बनाउने क्षमता भएका स्वरसम्राट आफ्नो स्वरका कारण जसरी आज पनि नेपालीको मन–मनमा बसिरहेका छन्, उनैको घरको यो हालत देख्दा भने जोकोहीको मन कटक्कै काटिन्छ ।
प्रतिक्रिया दिनुहोस्