
काठमाडौं, मंसिर ३ । नेपाली राष्ट्रिय फुटबल टिम र जापानको टिमबीच शनिबार दिउँसो च्यारिटी फुटबल आयोजना हुँदैछ ।
भूकम्पपीडितको सहयोगार्थ नेपाल र जापानबीचको मैत्री सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको उपलक्ष्यमा खेल शनिबार दिउँसो २ बजे एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा हुन लागेको हो ।
खेल आयोजनाको तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
सन् २००२ को विश्वकप खेलेका जापानी खेलाडी काजुयुकी टोडाको प्रशिक्षण एवं खेलाडीकैरुपमा रहेको टिमले नेपाली टिमसँग खेल्न लागेको हो ।
खेलपूर्वको पत्रकार सम्मेलनमा शुक्रबार बोल्दै टोडाले नेपालको एएफसी सोलिडारिटी कप फुटबलअन्तर्गत् ब्रुनाई र लाओसको खेल हेरेकाले सोहीअनुसार आफूहरुले जितका लागि खेल्ने प्रतिक्रिया दिए ।
नेपाली राष्ट्रिय टिमका प्रशिक्षक जापानी ग्योतोकी कोजीले आफूलाई युवा अवस्थामा एकपटक प्रशिक्षण दिएको सम्झदै टोडाले आफूले पनि खेलमा सक्दो उत्कृष्ट खेल्ने बताए ।
कप्तान नोजावा योसुकेले आफ्नो पूर्वप्रशिक्षकविरुद्ध मैदानमा उत्रनु आफूहरुका लागि विशेष भएको जनाए ।
त्यस्तै, कोजीले नेपाली टिममा कुनै दबाब नरहेकाले जित्नका लागि खुलेर खेल्ने बताए ।
घरेलु दर्शकसामु खेलाडीले जित्नकै लागि मैदानमा उत्रनेसमेत कोजीले बताए ।
प्रतिक्रिया दिनुहोस्