
फाइल फोटो
काठमाडौं, मंसिर ३ । यही मंसिर दोस्रो हप्तादेखि हुने महिला एसिया कप टी–ट्वन्टी क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।
नेपाली टोलीका प्रशिक्षक, कप्तान तथा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) प्रतिनिधि सम्मिलित छनोट समितिले शुक्रबार १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेकाले टोली छनोटमा आइसीसीको संलग्नता रहँदै आएको छ ।
टोलीको नेतृत्व नियमित कप्तान रुविना क्षेत्रीले गर्नेछिन् । अरु सदस्यमा इन्दु बर्मा, ज्योति पाण्डे, काजल श्रेष्ठ, करुणा भण्डारी, नेरी थापा, नीरा राजोपाध्याय, रश्मि शर्मा चौलागाइँ, रोशनी बोहरा, सवनम राई, सीता मगर, सरस्वतीकुमारी चौधरी र सीता राना मगर छन् ।
गत महिना सम्पन्न छनोट प्रतियोगिता खेलेकी शर्मिला शाही घाइते बनेपछि उनका स्थानमा संगीता राई टोलीमा अटाएकी छन् ।
त्यस्तै, अघिल्लो प्रतियोगितामा नभएकी शोभा आलेलाई पनि टोलीमा तानिएको छ ।
मंसिर ११ देखि १९ गतेसम्म थाइल्यान्डमा हुने प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल मंसिर ११ मा पाकिस्तानसँग खेल्नेछ ।
त्यस्तै, नेपालले १३ गते श्रीलंका, १४ गते बंगलादेश, १६ गते आयोजक थाइल्यान्ड र १७ गते भारतसँग प्रतिस्पर्धा गर्नेछ । रासस
प्रतिक्रिया दिनुहोस्