
काठमाडौं, मंसिर ४ । जिका भाइरसको संक्रमणले निम्त्याएको आपतकालिन अवस्था अब अन्तर्राष्ट्रियस्तरमै कम भएको घोषणा विश्व स्वास्थ्य संगठन डब्लुएचओले गरेको छ ।
जिका भाइरसको संक्रमण फैलिँदै गएपछि ९ महिनाअघि डब्लुएचओले अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालिन अवस्था घोषणा गरेको थियो ।
जिका भारइसको संक्रमण विश्वका ३० भन्दा बढी देशमा फैलिएको छ । यसका कारण गर्भमा रहेका बालबालिका बढी प्रभावित हुने गरेका छन् ।
यसका कारण टाउको सानो भएका बालबालिकाको जन्म हुने गरेको छ । जिका भाइरसको सबैभन्दा बढी संक्रमण भएको ब्राजिलमा दुई हजार एक सयभन्दा धेरै बालबालिकामा यस्तो समस्या देखिएको छ ।
आपतकालिन अवस्था अन्त्य भएपनि जिका भाइरस संक्रमणको खतरा भने अझै रहेकाले विशेष निगरानी गरिनुपर्ने डब्लुएचओले जनाएको छ ।
सन् १९४७ मा पहिलो पटक युगाण्डाको बाँदरमा फेला परेको जिकाको संक्रमण मानिसमा भने सन् १९५४ मा नाइजेरियामा भेटिएको थियो ।
त्यसपछि अफ्रिकामा महामारीको रुपमा फैलिएको जिका दक्षिण पूर्वी एसिया तथा प्यासिफिक आइल्याण्डमा देखिएको थियो ।
सन् २०१५ को मेमा ब्राजिलबाट सुरु भएको जिकाको संक्रमण निकै छिटो विश्वभर फैलिएको हो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्