
काठमाडौं, चैत १३ । भारतका विदेशसचिव विजय गोख्ले नेपालको दुईदिवसीय औपचारिक भ्रमणमा बिहीबार काठमाडौं आउँदैछन् ।
आफ्ना नेपाली समकक्षी शंकरदास वैरागीसँग भारत–नेपाल सम्बन्धका सबै पक्षमा विचार–विमर्श गर्न उनी आउन लागेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग उनले बेग्ला–बेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
करिब १५ महिनाअघि विदेशसचिवमा नियुक्त गोख्लेको यो पहिलो औपचारिक नेपाल भ्रमण हो ।
भारतको विदेशसचिवमा नियुक्त भएपछि पारस्परिक विषयमा छलफल गर्न नयाँदिल्लीबाट उच्च कूटनीतिक अधिकारीले नेपाल भ्रमण गर्ने परम्परा छ । दुई सचिवको नेतृत्वमा बिहीबार नै द्विपक्षीय वार्ता हुनेछ ।
सचिव गोख्लेका साथ सहसचिव सुधाकर दलेला पनि भ्रमण दलमा सहभागी हुनेछन् । रासस
प्रतिक्रिया दिनुहोस्