Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


रोग नलागेपछि ताप्लेजुङमा धानको उत्पादन बढ्यो(भिडियो)


0
Shares

-रविन भट्टराई,ईमेज

ताप्लेजुङ, मंसिर ४ । पहाडी जिल्ला ताप्लेजुङमा यस वर्ष धान उत्पादन बढेको छ । यस वर्ष पर्याप्त बर्षा भएको र रोग किराको प्रकोप पनि कम भएकाले गत वर्षभन्दा सात प्रतिशतले उत्पादन बढ्ने अनुमान गरिएको हो ।

ताप्लेजुङमा यस वर्ष धान उत्पादनमा बृद्धि भएको छ । धान रोप्ने समयमा पर्याप्त बर्षा हुनु र रोग किराको प्रकोप नदेखिंदा गत वर्ष भन्दा सात प्रतिशतले धान उत्पादनमा बृद्धि हुने जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले जनाएको छ ।

यस वर्ष जिल्लामा १८ हजार ५ सय ५५ मेट्रिक्क टन धान उत्पादन हुने सम्भावना रहेको जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका योजना अधिकृत किसुन देव यादब बताउँछन् । ताप्लेजुङमा यो वर्ष ८ हजार ७ सय ३७ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो ।

अघिल्लो वर्षहरुमा धान रोप्ने समयमा पानी नपर्दा थोरै क्षेत्रफलमा मात्र धान खेती हुँदै आएको थियो भने असिना र रोग किराको संक्रमण पनि बढि हुने हुँदा धान उत्पादनमा कमि आउने गरेकोमा यो वर्ष यस्तो समस्या नभएको हो ।

गत वर्ष बाढी पहिरोका कारण धान बालिमा क्षति पुर्‍याएका कारण धान उत्पादनमा कमि आएको थियो । यस वर्ष धान उत्पादनमा बृद्धि भए पनि जिल्लामा नै उत्पादित धानले जिल्लाको मागलाई भने धान्न नसक्ने कार्यालयको भनाई रहेको छ ।

ताप्लेजुङ हिमाली जिल्ला भएको र सबै क्षेत्रमा धान खेति नहुँने हुँदा यस वर्ष पनि करिव पाँच मेट्रिक्क टन धान आयत गर्नुपर्ने योजना अधिकृत किसुन देव यादव बताउँछन् ।

ताप्लेजुङको नगरपालिका सहित नाङ्खोल्याङ, थेचम्बु, हाङ्पाङ, चाँगे, खोक्लिङ, फुलबारी, सिनाम, हाङ्देवा, फुरुम्बु लगायत गाविसलाई धान उत्पादनका लागि पकेट क्षेत्र मानिंदै आएको छ ।

यि क्षेत्रमा उत्पादित धानले जिल्लाको ६० प्रतिशत माग धान्दै आएको छ । अन्य गाविसमा पनि केहि प्रतिशत धान उत्पादन हुने भए पनि पछिल्लो समय अलैंची खेतिबाट राम्रो आम्दानी हुने देखेका कृषकले धान खेती मासेर अलैचि खेति गर्दै आएका छन् ।