
हेटौंडा, मंसिर ४ । मकवानपुरको भीमफेदी गाविसस्थित जुरीखेतमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
काठमाडौंबाट मकवानपुर आउँदै गरेको बा३च ९२८९ नम्बरको निजी जिप दुर्घटनामा परेको हो । दुर्घटनामा अरु तीनजना घाइते भएका छन् ।
मृत्यु हुनेमा काठमाडौं, ज्याठाका ५५ वर्षीय सरद वैद्य र ३५ वर्षीया अनुजा श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । मृतकहरु दाजु–बहिनी हुन् ।
शनिबार बिहान साढे १० बजेतिर जिप अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी कारचालक नुवाकोटका ३७ वर्षीय दीपक भुजेल, काठमाडौंका ४८ वर्षीय दीपक श्रेष्ठ र उनकी १० वर्षीया छोरी आरज घाइते भएका छन् । घाइतेहरुको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटना भएको स्थान हुँदै राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुरबाट काठमाडौं फर्कंदै थिए । उनले नै जिप दुर्घटना भएको खबर प्रहरीलाई दिएका थिए ।
अध्यक्ष थापा पनि घटनास्थलमा पुगेर जिप दुर्घटनामा पर्नेहरुको उद्धारमा सहयोग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्