
लन्डन (बेलायत), मंसिर ४ । बेलायतकी एक १४ वर्षीया किशोरीले क्यान्सरबाट आफ्नो मृत्यु हुने निश्चय भएपछि अदालतलार्ई पत्र लेख्दै आफू क्यान्सरको उपचार हुन नसक्दा मृत्यु हुन लागेको जनाउँदै मृत्युपछि उनको शरीरलाई अन्त्येष्टि नगर्न र संरक्षण गरिदिन गरेको आग्रहको पक्षमा बेलायतको अदालतले फैसला दिएको छ ।
पत्रमा उनले क्यान्सरको उपचार नहुँदा ज्यान गुमाउनुपरेको तर आफूलाई यस धर्तीमा पूरा जीवन जीउने इच्छा प्रकट गर्दै भनेकी छन्–‘म धेरैभन्दा धेरै बाँच्न चाहेको र वैज्ञानिकले भविष्यमा पक्कै क्यान्सर निको पार्ने प्रविधि पत्ता लगाउने छन् । त्यही प्रविधिको प्रयोग गरेर सय वर्षपछि भएपनि म पुनर्जीवित हुन चाहन्छु । त्यसैले मलाई अन्त्येष्टि नगर्न अनुरोध गर्दछु ।’
किशोरीको मृत्युनिकट अवस्थामा लेखिएको पत्रले लन्डनस्थित उच्च अदालतलका न्यायाधीश पिटर ज्याकसनलाई प्रभावित पारेपछि उनले किशोरीको अन्तिम इच्छालाई पूरा गर्न स्वीकृति दिनेगरी फैसला सुनाएका हुन् ।
यो किसिमको अपिल र फैसला बेलायतमा पहिलो भएको भन्दै कार्यान्वयनमा लान अनुरोध गरिएको हो ।
किशोरीले आफूलाई सुरक्षित राख्न ३७ हजार पाउन्डको रकम लाग्ने पत्रमा जनाइएको छ ।
किशोरीका अभिभावकले उक्त शर्तलाई सुरुमा अस्वीकार गरेका थिए । किशोरीकी आमा यो कुराको पक्षमा आएपनि बाबुले अस्वीकार गर्न खोजे पनि अन्तिम समयमा छोरीको मृत्यु नजिकिएको अवस्थामा प्रस्तावलाई स्वीकार्न बाध्य भए ।
किशोरी र अभिभावकको नाम कानुनी जटिलताको कारण देखाउँदै सार्वजनिक गरिएको छैन ।
किशोरीले आफ्नी आमालाई मृतशरीरलाई व्यवस्थापन गर्न आग्रह गरेअनुसार उनको शरीरलाई अत्यन्तै न्यून तापक्रम (क्राइओजिनिकली प्रिजभ्ड)मा राख्न अनुमति दिइएको हो ।
यस प्रविधिअनुसार मृतशरीरलाई सुरक्षित राखिएमा भविष्यमा उपचारबाट शरीरलाई जीवन दिन सकिने एक अप्रमाणित प्रविधिबारे केही मानिसले चर्चा गर्ने गरेको थाहा पाएपछि किशोरीले अदालतसमक्ष सो आग्रह गरेकी हुन् ।
युनिभर्सिटी कलेज, लन्डनका न्यून तापक्रम प्रविधिसम्बन्धी विज्ञ ब्यारी फुलरले अत्यधिक चिसो तापक्रममा शरीरका तन्तुहरुलाई संरक्षण गर्न सकिने भएपनि यसलाई अहिलेसम्म मानव मिर्गौलाजस्ता ठूला भागमा प्रयोगमा नल्याइएको बताउँछन् ।
‘तत्काल हामीसँग मानिसको सम्पूर्ण शरीरलाई ‘क्राइओप्रिजर्भेसन’ प्रविधिद्वारा जीवित राखेका वस्तुगत तथ्यहरु छैनन् तर भविष्यमा तन्तुलाई पुनःजीवित गर्न सकिने सम्भावना देखिन्छ’–फुलरले थपे ।
उनले यस सम्बन्धमा रिसर्चहरु भइराखेका बताए ।
‘यदि अनुसन्धानले सकारात्मक नतिजा पाएमा भविष्यमा मानव शरीरका महत्वपूर्ण अंग प्रत्यारोपणका लागि ‘क्राइओप्रिजर्भेसन’ उपयोगी हुनेछ’–उनको भनाइ छ । रासस/एपी
प्रतिक्रिया दिनुहोस्