काठमाडौं, मंसिर ४ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको आइतबार (भोलि)देखि पोखरामा हुने भनिएको केन्द्रीय कार्यसमितिको पूर्ण बैठक स्थगित भएको छ ।
यही मंसिर ५ गतेदेखि ७ गतेसम्म बस्ने पार्टीको उक्त बैठक राष्ट्रिय प्रजातन्त्र पार्टीसँग हुन लागेको एकीकरणका लागि स्थगित भएको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।
यही मंसिर ६ गते प्रज्ञा भवनमा राप्रपा नेपाल र राप्रपाको एकीकरण भएको घोषणासभा गर्नुपरेकाले आफ्नो पार्टीको केन्द्रीय कार्यसमितिको पूर्ण बैठक तथा भ्रातृसंगठनको महाधिवेशन स्थगित गरिएको पार्टीले जनाएको छ ।
प्रवक्ता श्रेष्ठका अनुसार आइतबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भने काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।
त्यसैगरी, बैठकले दुई पार्टीकाबीच हुन लागेको एकीकरणकाबारेमा छलफल गरी एकीकरणको प्रयासका लागि विभिन्न क्षेत्र तथा स्थानबाट भएको सहयोगको मूल्यांकन गर्दै सैद्धान्तिकरुपमा उक्त सहमति पारित गर्नेछ । रासस









प्रतिक्रिया दिनुहोस्