२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


छाउगोठमा महिलाको निधन भएको घटनाप्रति प्रधानमन्त्रीको चासो


0
Shares

                                                                                    फाइल फोटो
काठमाडौं, मंसिर ४ । प्रधानमन्त्री पुष्पकमल दाहालले अछामको तिमिल्सेना गाउँमा छाउपडीगोठमा सुतेकी २१ वर्षीया महिलाको ज्यान गएको घटनाप्रति चासो व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालको सचिवालयले शनिबार अछामका प्रमुख जिल्ला अधिकारी कुशलराज शर्मासँग टेलिफोन गरी उक्त घटनाबारे चासो लिएको हो ।

छाउपडीगोठमा बसेकी २१ वर्षीया डम्बरा उपाध्यायको मृत्यु भएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री दाहालको सचिवालयले घटनाबारे चासो लिएको हो ।

प्रधानमन्त्रीको चासोपछि उनको सचिवालयले घटनाबारे चासो लिँदै प्रमुख जिल्ला अधिकारी शर्मालाई टेलिफोन गरी घटनाको यथार्थ जानकारी गराउन आग्रह गरेको हो ।

सचिवालयले छाउपडीप्रथाजस्तो कुरीतिको अन्त्यका लागि यथाशीघ्र सरोकारवालाहरुको बैठक बोलाएर जनचेतना अभियान सन्चालन गर्न र सामाजिक क्षेत्रका क्रियाशील संघ–संस्थालाई सेमिनार र गोष्ठीमामात्रै रकम खर्च गर्ने प्रवृत्तिको अन्त्य गरी जनचेतना जगाउने कार्यमा लाग्ने वातावरण बनाउन निर्देशन दिइएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

प्रधानमन्त्रीको चासोपछि प्रमुख जिल्ला अधिकारी शर्माले घटनाको यथार्थ बुझेर आवश्यक जानकारी गराउने बताउँदै छाउपडीप्रथा अन्त्यका लागि आफ्नोतर्फबाट सबै प्रयास गर्ने बताएका थिए । रासस