
काठमाडौँ, मङ्सिर ५ । ‘सडक दुर्घटनाका पीडितको स्मरण दिवस’ को अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले यहाँ आइतबार दीप प्रज्वलन गरेको छ ।
माइतीघर मण्डलामा आयोजना गरिएको दीप प्रज्वलनमा ट्राफिक प्रहरीका साथै ठूलो सङख्यामा युवा, विद्यार्थीको सहभागिता रहेको थियो ।
महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले नेपालमा बर्सेनि दुई हजार व्यक्तिको सडक दुर्घटनामा मृत्यु हुने गरेको जानकारी दिँदै यो रोक्न व्यक्तिको व्यवहारमा परिवर्तन आवश्यक रहेको बताए ।
उनले दुर्घटनालाई न्यूनीकरण गर्न सडक सुरक्षा राष्ट्रिय प्राथमिकताको विषय बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा सडक दुर्घटनामा परी घाइते भएका बाबुराम मिश्रले आफूले हतार गरी सवारी चलाएकै कारण दुर्घटनामा परेको बताउँदै सवारी चलाउँदै हतारो नगर्न सुझाव दिए ।
नेपालमा सडक दुर्घटनामा परी औसत दैनिक पाँच जनाको मृत्यु र १२ जना घाइते हुने गरेको तथ्याङ्क छ । रासस
प्रतिक्रिया दिनुहोस्