काठमाडौं, मंसिर ६ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज पार्टी एकता गर्दैछन् ।
काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम गरी दुई राप्रपाले एकताको घोषणा गर्न लागेका हुन् ।
एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी रहने र दुई जना अध्यक्ष हुने व्यवस्था मिलाइएको छ ।
अन्तरिम विधानको प्रबन्धअनुसार पार्टी एकीकरणको घोषणासँगै पशुपति शमसेर राणा राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय अध्यक्ष हुनेछन् भने कमल थापा पार्टी अध्यक्ष बन्नेछन् ।
एकीकरण पछि पार्टीको झन्डा राप्रपा नेपालको हुने र चुनाव चिह्न भने महाधिवेशनले तय गर्ने सहमति भएको छ ।
तीन महिनाभित्र महाधिवेशन गर्ने सहमति पनि गरिएको छ । पार्टीमा दुई अध्यक्षसहित ५ जना शीर्ष नेताको नेतृत्व रहने छ ।
जसमा लोकेन्द्रबहादुर चन्द, विश्वबन्धु थापा र प्रकाशचन्द्र लोहनी रहने छन् । दुबै पार्टीका डेढ डेढ सय केन्द्रीय सदस्य समाहित भएर तीन सय सदस्यीय केन्द्रीय समिति बन्ने छ ।
दुबै पार्टीका हालका पदाधिकारी यथावत जिम्मेवारीमा रहने व्यवस्था गरिएको छ । एकीकरणपछि राप्रपा संसदमा ३७ सिटका साथ चौथो ठूलो दल बन्ने छ ।









प्रतिक्रिया दिनुहोस्