-कविराज घिमिरे, ईमेज
धनकुटा, मंसिर ६ । धनकुटामा पछिल्लो समय दुग्धजन्य उद्योग स्थापना गर्ने क्रम बढेको छ । जिल्लामा दूध उत्पादन बढेकाले दुग्धजन्य उद्योग स्थापना गर्ने क्रम पनि बढेको हो ।
धनकुटा नगरपालिका वडा नम्वर–५ मा डेरी उद्योग सञ्चालन गर्दै आएका राजन अधिकारी यतिबेला डेरीलाई थप लगानी गरी दुग्धजन्य उद्योग सञ्चालनको तयारीमा जुटेका छन् ।
२०६७ सालमा एक लाख रुपैयांको लागतमा डेरी उद्योग सुरु गरेका अधिकारीले अहिले करीब ८० लाख रुपैयांमा दुग्धजन्य उद्योग सञ्चालनको तयारी गरेका हुन् ।
पहिले दुध, घ्यु र क्रिम मात्र उत्पादन हुने अधिकारीको डेरीमा अब भने घ्यु र क्रिम संगै पनिर, चीज, छुर्पि लगायत दुधका बिभिन्न परिकार उत्पादन हुने भएको छ ।
दुग्धजन्य उद्योगको भविष्य राम्रो भएकाले यो तर्फ आकर्षण भएको अधिकारी बताउँछन् । अधिकारी जस्तै धनकुटाका स्थानीय उद्योगीको आकर्षण यतिबेला दुग्धजन्य उद्योगमा बढेको छ ।
घरेलु तथा साना उद्योग बिकास समिति धनकुटाले दिएको जानकारी अनुसार जिल्लामा तीन बर्षको अबधिमा नौ उद्योग दर्ता भई सञ्चालनमा आएका छन् भने सोहि हाराहारीमा बिना दर्ता सञ्चालनमा रहेको जनाइएको छ ।
जसको कुल लगानी साढे तीन करोड नाघेको छ भने दुई सय भन्दा बढि ब्यक्तिले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।
युवा पुस्ताको सक्रियता तथा कृषि प्रतिको धारण परिवर्तन भए संगै दुग्धजन्य उद्योग स्थापनाको क्रम बढेको घरेलु तथा साना उद्योग बिकास समिति धनकुटाका शाखा प्रमुख दिपक पौडेल बताउँछन् ।
दुग्धजन्य उद्योग स्थापनाको क्रम बढेसंगै धनकुटामा दुधको खपत समेत बढेको छ । गत बर्षको तथ्याङ्क अनुसार धनकुटामा उत्पादन हुने कुल १२ हजार चार सय ९६ मेट्रिकटन दुधमध्ये पाँच हजार एक सय ९६ मेट्रिकटन दुध जिल्ला भित्र खपत हुने गरेको जिल्ला पशुसेवा कार्यालय धनकुटाले जनाएको छ ।
स्थानीय स्तरमा दुधको खपत बढे संगै दुग्ध उत्पादन तर्फ किसान थप आकर्षित भएको जिल्ला पशुसेवा कार्यलय धनकुटाका सुचना अधिकारी झबिन्द्र मरासीनि बताउँछन् ।
दुध स्थानीय स्तरमै खपत बढेपछि बिक्रि नहुने तथा मुल्य नपाईने समस्या समेत हटेको स्थानीय कृषक बताउंछन् ।
स्थानीय स्तरमै दुध खपत गर्ने यस्ता उद्योगलाई आकर्षित गर्न सके धेरैको जिबिकोपार्जनको माध्यम मात्र बन्ने थिएन रोजगारी अभाव देखाई युवा पुस्ता बिदेशिने क्रम समेत केही हदसम्म रोकिने थियो की ।





प्रतिक्रिया दिनुहोस्