२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


हाजिर सार्वजनिक गर्न थालेपछि सरकारी कार्यालय प्रमुखहरु कार्यालयमै बस्न थाले


0
Shares

पर्वत, मंसिर ६ । जिल्ला प्रशासन कार्यालयले पर्वत जिल्लामा कार्यरत कार्यालय प्रमुखहरुको मासिक हाजिरी विवरण सार्वजनिक गर्न थालेपछि प्रमुखहरुले कार्यालयमा बढी समय दिन थालेका छन् ।

कार्यालयले कात्तिक महिनाको हाजिरी विवरण सार्वजनिक गर्दा प्रमुखहरुले कार्यालयमा बस्ने क्रममा सुधार आएको पाइएको हो ।

सरकारी कार्यालयका प्रमुखहरु कार्यालयमा भन्दा अन्यत्र बढी जाने गरेको र कार्यालयमा नबस्ने गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले असोज महिनादेखि सर्वसाधारणको जानकारीका लागि कार्यालय प्रमुखको मासिकरुपमा भएको हाजिरी विवरण सार्वजनिक गर्न थालेको थियो ।

कार्यालयले सार्वजनिक गरेको कात्तिक महिनाको हाजिरी विवरणमा यसपटक सार्वजनिक बिदाबाहेक कार्यालय प्रमुखहरु बढी समय कार्यालयमा बस्न थालेको पाइएको छ । असोज महिनामा तीन दिनमात्रै कार्यालयमा बसेका प्रमुखसमेत १५ दिनभन्दा बढी बस्न थालेका छन् ।

कार्यालय प्रमुखलाई कामप्रति बढी जवाफदेही बनाउन मासिकरुपमा हाजिरी विवरण सार्वजनिक गर्दा प्रभावकारी देखिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले बताए । ‘कार्यालय प्रमुखहरु जिल्लामा बस्ने क्रममा सुधार देखिएको छ,’ उनले भने, ‘कार्यालय प्रमुखहरुलाई काज, बिदाजस्ता काममा भन्दा सेवाग्राहीको सेवामा केन्द्रित गर्न हाजिरी सार्वजनिक गर्ने कार्य प्रभावकारी देखिएको छ ।’

पर्वतमा कार्यालय प्रमुखहरु धेरै समय ‘फिल्ड’ लेखेर निजी काममा जाने गरेको गुनासो आउने गरेको छ । बिना काम जिल्ला छाड्ने र परिवार भेटघाटका लागिसमेत सरकारी सवारी साधनको दुरुपयोग हुने गरेको गुनासो पनि गरिँदै आएको छ । (रासस)